ट्रम्पपुटिन वार्ता र अमेरिकी असहजता

Publish On: July 18, 2018

जर्मनी तेल र ग्याँस किनेर रूसको समृद्धिमा योगदान पुर्‍याउँछ अनि अमेरिकाले रूसबाट जर्मनीको सुरक्षा गरिदिनुपर्दछ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको जुलाई १६ मा सम्पन्न शिखर बैठक र बैठकपछिको प्रेससँगको भेटघाटमा दुवै राष्ट्रपतिद्वारा व्यक्त धारणाप्रति न्युयोर्क टाइम्सका स्तम्भकार र चर्चित विश्लेषक थोमस फ्राइडम्यानको स्तम्भको शीर्षक छ, अमेरिकाविरुद्ध ट्रम्प र पुटिन। न्युयोर्क टाइम्सकै मार्क ल्यान्डलरको विश्लेषणको शीर्षक छ, एक राष्ट्रपतिले विदेशमा गएर गर्ने व्यवहारका सबै मानदण्डलाई ट्रम्पले ध्वस्त पारेका छन्।

वासिंटन टाइम्समा अमेरिकी गुप्तचर विभाग (एफबीआईका पूर्वनिर्देशक जेम्स कोमेलाई उद्धृत गर्दै एलेक्स सोयरद्वारा लिखित समाचार विश्लेषणको शीर्षक पुटिनप्रति गरिएको अपमानजनक शब्दहरूसहितको शीर्षकलाई उल्लेख गर्नु पंक्तिकारले शोभनीय मानेन।

सीआईएका पूर्वनिर्देशक जोन ब्रेन्नेनले ट्रम्पको पुटिनसँगको पत्रकार सम्मेलनलाई राष्ट्रविरुद्धको गद्दारी बताएका छन्। ट्रम्पले आमन्त्रण गरेको एक दिनको खराबीले वर्षौं वर्षसम्मका लागि खराब दिन बोकेर ल्याउने पनि ब्रेन्नेनको भनाइ छ। एउटा कुरा स्मरणीय छ कोमे र ब्रेन्नेन दुवै पूर्वराष्ट्रपति बाराक ओबामाद्वारा एफबीआई र सीआईए निर्देशकमा नियुक्त भएका थिए र मुलुकको हित र आफ्नो सरकारको निर्देशनअनुसार काम नगरेका कारण जनाएर राष्ट्रपति ट्रम्पले सन् २०१७ मा उनीहरू दुवैलाई बर्खास्त गरेका थिए।

एउटा चर्चित अमेरिकी समाचार र विचारसम्बन्धी वेबसाइट भक्स डटकमको एउटा शीर्षक छ, डोनाल्ड ट्रम्प, भ्लादिमिर पुटिन र अमेरिकाको भूराजनीतिक आत्महत्या।

माथिका भनाइहरू ट्रम्पपुटिन शिखर बैठकपछि दुवै नेताद्वारा पत्रकार सम्मेलनमा व्यक्त विचारका आधारमा आएका प्रतिक्रियाका केही बान्की हुन्। के पनि विचारणीय छ भने ट्रम्पका अधिकांश आलोचकहरू र उनीविरुद्ध विषवमन गर्ने सञ्चारमाध्यमहरू ट्रम्प राष्ट्रपति निर्वाचित हुनुअघिदेखि नै उनका कडा आलोचक र उनीप्रति अग्राह्य स्तरसम्मको आग्रह राख्दै आएका हुन्।

पुटिनसँगको वार्ताअघि वार्ताको औचित्य नै अस्वीकार गर्ने विभिन्न प्रचारबाजी पनि अमेरिकामा व्यापक भए।

कतिपय अवस्थामा अमेरिकी विधायक र राजनीतिक विश्लेषकहरूले ट्रम्पविरुद्ध प्रयोग गरेका शब्दहरू स्वाभाविक लाग्दैनन्।

असोसिएटेड प्रेसले केन्टुकीबाट अमेरिकी सिनेटमा निर्वाचित सिनेटर र्‍यान्ड पललाई उद्धृत गर्दै उल्लेख गरेअनुसार ट्रम्पका आलोचकहरूको रूसलाई हेर्ने दृष्टिकोणमा नै खोट रहेको छ। सिनेटर पलअनुसार आफ्ना विरोधी र प्रतिद्वन्द्वी राष्ट्रहरूसँग खुला संवाद गर्नु र उनीहरूलाई आफ्नो व्यवहार परिवर्तन गर्न अभिप्रेरित गर्नु महत्वपूर्ण राज्य दायित्व हो र त्यस्तो संवादलाई फलदायी बनाउनु पनि अमेरिकाको दायित्व हो। पलले के पनि भनेका छन् भने दुवै पार्टीलाई प्रतिनिधित्व गर्ने अमेरिकी विधायक र पूर्व गुप्तचर अधिकारीहरू सुरुदेखि नै राष्ट्रपतिका विरोधी थिए र उनीहरू स्थायी रूपमा नै ट्रम्पविरुद्ध कठोर घृणा र कुण्ठा एक किसिमको मनोरोगपीडित व्यक्ति हुन्।

अमेरिकी समाचारमाध्यमहरूमा पर्याप्त चर्चा पाएको विषय सिनेटर पलको जुलाई १५ को सीएनएनसँगको संवादमा उनले सन् २०१६ को निर्वाचन अभियानमा रूसले हस्तक्षेप गरेकोमा उसलाई जिम्मेवार र दोषी ठहर्‍याउनुलाई पनि उनले गलत बताएका छन्।

जुनजुन मुलुकसँग विदेशी मुलुकमा हुने निर्वाचनमा त्यस्तो हस्तक्षेप गर्ने साधन र क्षमता छ, तिनले जहाँ पनि गर्ने गर्दछन् र अमेरिकाले पनि त्यो गरेको छ भनेर पलले भनेका छन्। कसैले कति घटी वा बढी हस्तक्षेप गर्‍यो त्यो महत्वपूर्ण सवाल होइन, मुख्य कुरो सन् २०१६ को राष्ट्रपतिको निर्वाचनमा ट्रम्पको प्रतिद्वन्द्वी र ओबामा प्रशासनको विदेशमन्त्री रहेकी हिलारी क्लिन्टनले पनि रूसको निर्वाचनमा हस्तक्षेप गरेकी थिइन्। जसरी अमेरिकाले आफूले गरेको हस्तक्षेप स्विकार्ने गरेको छैन, रूसले पनि त्यस्तो कुरा स्विकार्ने छैन भन्नेमा आफू विश्वस्त भएको पलको धारणा सीएनएनले प्रसारण गरेको थियो।

एउटा कुरा प्रस्ट छ राष्ट्रहरू युद्ध लडिरहेकै बेलामा पनि एकअर्को मुलुकका युद्ध अन्त्य वा युद्धविरामका लागि कुनै न कुनै संवाद सूत्रहरूलाई प्रयोग गरिरहेका हुन्छन्। हार वा जितपछि पनि त्यस्तो संवाद वा सहमति गरिन्छ। रुजबेल्ट, ट्रुमन, आइजन हावर, केनेडी निक्सन, रेगन, बुस सबैले दुई मुलुकबीच अत्यन्त तनावको स्थितिमा सोभियत संघ र चीनसँग वार्ता गरेर सम्बन्धलाई सहज बनाएका थिए।

ठूला प्रतिद्वन्द्वी शक्ति राष्ट्रहरूबीच वार्ता र संवादमा कुनै पक्षकाले बढी राजनीतिक वा रणनीतिक लाभ होला, हुन सक्छ, तर त्यसको त्रास पालेर त्यस्ता मुलुकहरू परस्पर संवादबाट भाग्न सक्दैनन्।

अमेरिका र रूसबीच वर्तमानमा कुनै युद्धको स्थिति छैन, सेना आमनेसामने छैनन्। क्षेत्रीय र अन्तर्राष्ट्रिय सवालहरूमा स्वाभाविक रणनीतिक प्रतिस्पर्धा छ र त्यो अमेरिकाका निकटतम मित्रहरूका बीचमा पनि छ।

गएको जुन २७ मा वासिंटन पोस्ट्मा प्रकाशित कार्ल विल्डको लेखअनुसार ट्रम्प क्रिमिया काण्डमा पुटिनको भन्दा बाराक ओबामाले गिजोलेको रणनीतिक अवस्थालाई दोष दिन्छन्। क्रिमियामा अत्यधिक ठूलो संख्यामा बस्ने रूसीभाषी जनताको भावनाअनुसार रूसले हस्तक्षेप गरेको उनको मान्यता छ।

रूस अमेरिका सम्बन्धमा जटिल र अनगिन्ती समस्या छन्। फरेन अफियर्समा माइकल किम्मेजले उल्लेख गरेअनुसार गएको आठ वर्षको अवधिमा रूस र अमेरिकाबीच शिखर बैठक भएकै छैन। विश्व व्यवस्थाको नेतृत्व गरिरहेको अमेरिकाले रूसजस्तो विशाल र शक्तिशाली मुलुकसँग यति लामो अवधिदेखि शिखर बैठकका लागि समय नदिनु अमेरिकी नेतृत्वको कूटनीतिक र रणनीतिक दूरदर्शिता हुन नसक्ला पनि।

अमेरिका, नाटो र युरोप

हेलसिन्की वार्ताअघि ट्रम्प ब्रसेल्समा नाटो राष्ट्रहरूको शिखर बैठक र बेलायतको विवादित भ्रमणमा थिए।

ट्रम्पको ब्रसेल्स भ्रमणले विश्वभर र खास गरेर युरोपमा हलचल मच्चाएको थियो। दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्थाको केन्द्रमा रहेको संसारको सबैभन्दा शक्तिशाली सुरक्षा र राजनीतिक संगठनको परिचय बोकेको उत्तर अट्लान्टिक सन्धि संगठन (नाटो) को शिखर बैठक कतै त्यसको विघटनको कारक त बन्दैन भन्ने कतै चिन्ता र कतै चासोले विश्व रंगिएको थियो। अमेरिकाले युरोपियन युनियन र नाटो राष्ट्रहरूको विश्वास तोडेको आरोप युरोप र अमेरिकाका आलोचकहरूले लगाइरहेका थिए।

तर अमेरिकाको चर्चित थिंकट्यांक हेरिटेज फाउन्डेसनका उपाध्यक्ष किम आर होम्जले ठाडो प्रश्न गरेका छन् ट्रम्पले युरोपको विश्वासलाई तोडेको कुरालाई एकोहोरो रटेर बस्दा युरोपले ट्रम्प र अमेरिकी जनताको विश्वास आर्जन गर्न सकिरहेको छैन भन्ने किन सोच्दैन ? कतिपटक प्रतिरक्षा बजेटमा वृद्धि गर्ने प्रतिबद्धतालाई उनीहरूले तोडेका छन् ? निःशुल्क भोजनको लोभ पालेजस्तै आफूले न्यूनतम खर्च पनि नगरी अमेरिकी जनताको करको पैसा र अमेरिकी सुरक्षामा भरपर्ने तर फेरि सधैंभर जर्मनीजस्तो कट्टर अमेरिकाविरोधी भावना बोकिरहने युरोपीय मनोभावनाप्रति जुलाई १२ मा होम्जले आफ्नो कडा आपत्ति व्यक्त गरेका हुन्।

रूससँगको सम्बन्धलाई सामान्य बनाएर चीनसँगको व्यापार विवाद, उत्तर कोरियासँगको आणविक वार्ता, सिरिया संकट समाधानमा अमेरिकालाई समय र कूटनीतिक र रणनीतिक सामथ्र्य दुवै प्राप्त हुनेमा दुविधा राखिरहनु आवश्यक नहोला।

रूससँगको इन्धन आपूर्तिबाट अत्यधिक लाभान्वित भइरहेको जर्मनीलगायतका युरोपका मुलुक बाराक ओबामाले रूसलाई रिझाउन लाग्दा सन्तुष्ट देखिन्थे। रूसविरुद्ध नाकाबन्दी लगाउने सवालमा जर्मनी अनिच्छुक थियो। जर्मनीको यो दोहोरो मानदण्ड आन्तरिक राजनीतिक प्रयोजनका लागि मात्र हो भन्ने पनि उनको भनाइ छ।

प्रतिरक्षा बजेट वृद्धिमा आन्तरिक राजनीतिक आधार निर्माण गर्न नसक्ने, रक्षा खर्च वृद्धि गर्ने आफ्नै प्रतिबद्धता पूरा नगरेर अमेरिकाको त्यो मागलाई अमेरिकाविरोधी भावनामा रूपान्तरण गर्ने र आफ्नो राजनीतिक पुँजी निर्माणको सस्तो रणनीति युरोपका नेताहरूले अवलम्बन गरिरहेको पनि होम्जको टिप्पणी छ।

होम्जका अनुसार जर्मनीका अति वामपन्थी र दक्षिणपन्थी दुवैतिर रुग्ण अमेरिकाविरोधी भावना छ र यसलाई उनीहरूले आफ्नो राजनीतिक संस्कृतिको अंग नै बनाएका छन्।

एउटा कुरा प्रस्ट बुझ्न सकिन्छ राष्ट्रपति ट्रम्प अमेरिकी राष्ट्रिय हितबारे स्पष्ट छन्। उनमा कुनै राजनीतिक आग्रह छैन। उनी उत्तर कोरियाली शासक किम जोङ उनप्रति पनि खुला छन् र भ्लादिमिर पुटिनप्रति पनि। क्रिमिया सवालको स्थायी समाधान, युरोपीय सुरक्षा र पाँच लाखभन्दा बढीको हत्या र अन्य दसौं लाखको अंगभंग, पारिवारिक विखण्डन र विस्थापन, युरोपको शरणार्थी समस्या र आतंकवादको कारक बनेको सिरिया संकटको समाधान र रूससँगको आणविक हतियार परिसिमन सन्धिप्रति ट्रम्प प्रतिबद्ध देखिन्छन्। निश्चित रूपमा ती समस्या ट्रम्पले लिएर आएका होइनन्, उत्तराधिकारमा पाएका हुन्।

साविककै रणनीति अवलम्बन गरेर ती समाधानमा पुग्न नसक्ने ट्रम्पले बुझे र फरक रणनीति अवलम्बन गर्न चाहे। तर साविकको रणनीतिसँग स्वार्थ र आग्रह जोडिएका व्यक्ति र समूहहरू उनीप्रति कठोर आक्रमण गरिरहेका छन्।

तर उनी अव्यवस्थित भने छन्। विश्व व्यवस्थाको नेतृत्व गरिरहेको मुलुकको सर्वोच्च नेतृत्व त्यति अव्यवस्थित भने नदेखिनुपर्ने हो तर त्यो रणनीति हो भने उनै जानून्।

रूस र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको सम्बन्धका कारण युरोपमा खास गरेर जर्मनीमा र अमेरिकामा अत्यधिक आलोचित अमेरिकी राष्ट्रपति ट्रम्पले गत ११ जुलाईमा नाटो शिखर सम्मेलनको सुरुमै जर्मनीलाई रूसको बन्दी राष्ट्र बताएको सीएनएनले उल्लेख गरेको थियो। जर्मनी तेल र ग्याँसका लागि रूसलाई अर्बौं अर्ब डलर तिर्दछ, रूसको समृद्धिमा योगदान पुर्‍याउँछ अनि रूसबाट जर्मनीको सुरक्षा अमेरिकाले गरिदिनुपर्दछ। अंगेला मेर्कल र जर्मनीबारे नाटो सम्मेलनको पूर्वसन्ध्यामा ट्रम्पको गुनासो अकारण भने थिएन। ट्रम्पले जर्मनीमा चान्सलर भइसकेका गेर्हार्ड स्रोडर जस्तो व्यक्ति रूसको तेल कम्पनीमा जागिर खानजाने अनि अमेरिकालाई रूससँग भिडाउने कुराको पनि तीखो आलोचना गरेका थिए।

युरोपको सुरक्षा र रूसअमेरिका सम्बन्धको महत्व

सुरूका आशंका र दबाब पार गर्दै साझा सहमतिको घोषणा गर्न नाटो सफल भयो। ७९ बुँदाहरू र झन्डै १२ हजार शब्दमा समेटिएको नाटो घोषणाको तेस्रो बुँदामा ट्रम्पको अपेक्षाअनुरूपको प्रतिरक्षा खर्चमा वृद्धि गर्न नाटो राष्ट्रहरू सहमत भएको उल्लेख छ। मूलतः चौथोदेखि नवौं बुँदासम्ममा र रूसप्रति युरोपका मुलुकहरूका आशंका र युरोपीय सुरक्षाप्रति अमेरिकालगायत सबै नाटो राष्ट्रहरूको प्रतिबद्धता समेटिएको छ। जुलाई ११ मै जारी गरिएको बाह्रबुँदे प्रेस विज्ञप्तिले ७९ बुँदे घोषणाका सबै मुख्य कुरा खिचेर प्रस्तुत गरेको छ, तर प्रेस वक्तव्यको पहिलो बुँदामै रूसप्रतिको नाटो राष्ट्रहरूको साविकको धारणालाई पुनर्पुष्टि गरिएको छ। नाटोमार्फत उत्तर अमेरिका र युरोपका राष्ट्रमाझ समान मूल्यमा आधारित अटुट विश्वास र समझदारीको सम्बन्धलाई घोषणा र प्रेस विज्ञप्ति दुवैले प्रमुखता प्रदान गरेका छन्।

तर पुटिनसँगको सम्बन्धलाई सामान्य बनाउनु स्वयं युरोपको अत्यधिक हितमा छ। महाकाय रूससँगकै सम्बन्धको सन्दर्भमा युरोपीय सुरक्षाका अनगिन्ती चुनौतीहरू छन्।

एउटा उदाहरणहो सुवाल्की क्षेत्र। पोल्यान्डको उत्तर, लिथुआनियाको दक्षिण रूसी स्वामित्वको तर रूसी मुख्य भूमिको सीमाबाट करिब सवा तीन सय किलोमिटर पर बाल्टिक सागर तटमा रूसको कलिनिनग्राद प्रदेश छ। १५ हजार एक सय वर्ग किलोमिटरको उक्त प्रदेशको बाल्टिस्क बन्दरगाह रूसको एक मात्र वर्षको बाह्रै महिना हिउँ नपर्ने बन्दरगाह हो। कलिनिनग्रादको पूर्व पोल्यान्डको उत्तर र लिथुआनियाको दक्षिण र रूसको अत्यन्त निकटको मित्रराष्ट्र बेलारूसको पश्चिम करिब एक सय किलोमिटर लामो र ६५ किलोमिटर चौडा सुवाल्की ग्याप अथवा सुवाल्की कोरिडोर बाल्टिक क्षेत्रका मुलुकहरूलाई युरोपका बाँकी नाटो राष्ट्रहरूसँग जमिनबाट जोड्ने एउटै मात्र माध्यम हो। क्रिमियामा रूसी नियन्त्रण कायम भएपछि सुवाल्की करिडोरलाई पनि रूसले नियन्त्रणमा लिन सक्ने चिन्ता अमेरिकी सेना र नाटो राष्ट्रहरूमा रहेको देखिन्छ।

९ फेब्रुअरी २०१६ मा एटलान्टिक काउन्सिलका लागि अग्निया ग्रिगासको आलेखअनुसार कलिनिनग्राद र आसपासको रूसी क्षेत्र अत्यधिक सैन्यीकृत क्षेत्र हो। त्यहाँको बाल्टियास्क बन्दरगाहमा ५६ युद्धक जहाज र अनेकौं पनडुब्बीसहितको रूसको बाल्टिक बेडा त्यहाँ छ। जल बेडा, स्थल सेना र दुई हवाई सैन्य अड्डा पनि छन्। कलिनिनग्रादमा रूसी क्षेप्यास्त्रहरू पनि तैनाथ छन्। त्यस अवस्थामा पूर्वी पोल्यान्ड र बाल्टिक राष्ट्रहरूको सुरक्षाका लागि नाटोका स्थल र जलसेनालाई रूसले कुनै पनि समयमा अवरुद्ध गर्न सक्छ। त्यसमाथि बेलारूसले रूसलाई एक विशाल हवाई सैन्य अड्डा स्थापना गर्न स्वीकृतिसमेत दिइसकेको अवस्थाबारे पनि ग्रिगासले उल्लेख गरेका थिए।

सेन्टर फर युरोपियन पलिसी नामक संस्थाको लागि युरोपमा तैनाथ अमेरिकी सेनाका पूर्व प्रमुख तथा सेवानिवृत्त लेफ्टिनेन्ट जनरल बेन हज, सो संस्थाका अध्यक्ष पिटर डोरान र वरिष्ठ विश्लेषक जानुस बुजास्कीद्वारा तयार गरिएको सेक्युरिङ सुवाल्की कोरिडोर शीर्षकको एक अध्ययन प्रतिवेदनमा उल्लेख भएअनुसार उत्तरमा बाल्टिक सागर तटका नाटो राष्ट्रहरूलाई दक्षिणमा युरोपको मैदान जोड्ने सुवाल्की कोरिडोरमा नाटोलाई उपलब्ध स्थल मध्यम भनेको त्यहाँका दुई साँघुरा राजमार्ग र एक रेलमार्ग मात्रै हो।

उक्त कोरिडोरमाथि रूसको नियन्त्रण कायम भएमा लिथुवानिया, ल्याटभिया र इस्टोनियाजस्ता नाटो राष्ट्रहरूको सुरक्षाका लागि नाटोका स्थल सेनाको तैनाथी र सैन्य अभियान कठिन हुन जान्छ।

युरोप र अमेरिकाका विशिष्ट विज्ञहरूसँगको लामो वार्ता छलफल, गहन अनुसन्धान र उक्त कोरिडोर र आसपासको भूगोलको गम्भीर सामरिक अध्ययन र उक्त क्षेत्रमा तैनाथ नाटो सेनाको अवस्थिति र रूसको सामरिक क्षमता र सम्भावित रणनीतिसमेतका आधारमा तयार पारिएको उक्त प्रतिवेदनअनुसार रूसको त्यस्तो सम्भावित आक्रमण वा हस्तक्षेपविरुद्ध नाटोको पूर्ण तयारी छैन।

गएको जुलाई ११ मा फरेन अफियर्स पत्रिकामा माइकल किम्मेजले विल्कुलै सही के उल्लेख गरेका छन् भने युरोप र मध्यपूर्वको भविष्यका लागि र अमेरिकाको बृहत् राष्ट्रिय हितका लागि पनि अमेरिका र रूस सम्बन्ध र सम्पर्कविहीन अवस्थामा रहन सक्दैन। किम्मेजअनुसार रूसको व्यवहारलाई आफ्नो अनुकूल बनाउन पनि उससँगको कूटनीतिक सम्बन्धलाई नियमित र व्यवस्थित गरिनुपर्दछ।

अमेरिका रूसजस्तो मुलुकलाई आफ्नो इच्छाअनुरूप हिँडाउने हैसियत राख्दैन त्यो असम्भव चाहना हुन जान्छ। सन् २०१४ मा क्रिमिया काण्डपछि आर्थिक प्रतिबन्धबाट रूसलाई एक्ल्याउने अमेरिकी प्रयासले पनि काम गरेको छैन, बरू त्यसले रूसी विदेश नीतिलाई झन् बढी आक्रामक र महत्वाकांक्षी बनाएको छ र सिरिया र इरान मामिलामा त्यो प्रदर्शन पनि भएको छ।

त्यसैले आफ्ना मतभेदहरूलाई उठाइरहने तर सम्बन्धलाई सामान्य बनाइरहने र सामान्य र अनुकूल सम्बन्धको लाभमा सम्बन्धमा थप समस्या र चुनौती आउन नदिने क्रममा रूससँगको सम्बन्धलाई सामान्य बनाएर चीनसँगको व्यापार विवाद, उत्तर कोरियासँगको आणविक वार्ता, सिरिया संकट समाधानमा अमेरिकालाई समय र कूटनीतिक र रणनीतिक सामथ्र्य दुवै प्राप्त हुने कुरामा दुविधा राखिरहनु आवश्यक नहोला।

रूससँग कठोर नीति अवलम्बन गर्नुपर्ने पक्षमा रहेका विदेशमन्त्री माइक पोम्पियो, रक्षामन्त्री जेम्स म्याटिस र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनजस्ता ट्रम्पका सहयोगीहरूले आफ्ना राष्ट्रपतिलाई रूसी राष्ट्रपति पुटिनसँगको सम्बन्धमा उनको व्यक्तिगत सम्मान र राष्ट्रिय स्वाभिमान जोगाएर अमेरिकासँगको सम्बन्ध सुधारको सहज मार्ग उपलब्ध गराइदिँदा अमेरिकालाई आफ्ना राष्ट्रिय लक्षहरू प्राप्त गर्नमा सघाउ पुग्नेमा दुविधा नहोला।

-केशवप्रसाद भट्टराई