अब अन्तरिक्ष र भूमिगत युद्धसेना

Publish On: July 3, 2018

हतियार र उच्च नैतिक बलका उत्तिकै अचुक प्रतिरक्षात्मक र आक्रामक प्रहार क्षमताको पछाडि भने प्रभावकारी अन्तरिक्ष सैन्य क्षमताले नै काम गरिरहेको हुन्छ

गएको जुन १८ मा ह्वाइट हाउसको स्वागत कक्षमा नेसनल स्पेस काउन्सिलको बैठक र स्पेस पलिसी डाइरेक्टिभ ३ को हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्षमा अमेरिकाको विराट राष्ट्रिय हित निहित रहेकोले त्यहाँ अमेरिकाको उपस्थिति अमेरिकी राष्ट्रिय सुरक्षाको लागि महत्वपूर्ण रहेको बताए। त्यसैले अन्तरिक्षमा आफ्नो मुलुकको प्रभुत्वपूर्ण उपस्थिति पनि आवश्यक रहेको उनको भनाइ थियो।

सोही क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकी रक्षा विभाग र रक्षा मन्त्रालयलाई सेनाको छैठौं शाखाको रूपमा अन्तरिक्ष सेना गठन गर्ने आदेश दिए। उनका अनुसार त्यस्तो अन्तरिक्ष सेना अमेरिकी हवाई सेनाभन्दा पृथक तर समान हैसियतको हुने छ। अमेरिकाका सर्वोच्च सैन्यअधिकारी, संयुक्त सेनाप्रमुख तथा राष्ट्रपति एवं रक्षामन्त्री र राष्ट्रिय सुरक्षा परिषद्का मुख्य सैनिक सल्लाहकार जनरल जोसेफ डनफोर्डलाई राष्ट्रपति ट्रम्पले सो कार्यको संयोजन गर्न उनलाई निर्देशन पनि दिए।

त्यसअघि मे १ मा एउटा कार्यक्रमलाई सम्बोधन गर्दै ट्रम्पले स्पेस फोर्स गठन गर्नेबारे आफूले गम्भीरतापूर्वक विचार गरिरहेको बताएको वासिंगटन फ्रि बिकनले उल्लेख गरेको थियो।

आम्र्स कन्ट्रोल एसोसिएसनको निर्देशक डारिल किम्बललाई उद्धृत गर्दै जुन १८ मा नै दी न्युयोर्क टाइम्समा क्याटी रोजर्सले उल्लेख गरेअनुसार राष्ट्रपति ट्रम्पको उक्त निर्णयले अन्तरिक्षमा रूस र चीनलाई अमेरिकाको प्रतिस्पर्धा गर्न प्रेरित गर्नेछ र त्यसलाई व्यवस्थापन गर्ने अर्को जटिल चुनौती विश्वसामु उपस्थित हुनेछ।

अमेरिकी सेना र कांग्रेसले त्यस्तो अन्तरिक्ष सेना गठन गर्न एउटा लामो र जटिल प्रक्रिया अवलम्बन गर्नुपर्ने भएकाले वर्तमान विश्वको तनावग्रस्त स्थिति त्यसको लागि उपयुक्त समय नभएको किम्बलले बताएको पनि रोजर्सले उल्लेख गरेका छन्।

जुन २७ मा प्याट्रिक टुकरले डिफेन्स वन माडिफेन्स इन्टेलिजेन्स एजेन्सीका प्रमुख लेफ्टिनेन्ट जनरल रोबर्ट एस्लेको रूस र चीनले अन्तरिक्षबाट प्रहार गरिने हातहतियारहरू विकास गरिरहेको बताएको लेखेका छन्।

अमेरिकाको नेसनल इन्टेलिजेन्सका डाइरेक्टर डेनियल आर. कोट्सका तर्फबाट २०१८ को फेब्रुअरी १३ मा प्रकाशित वल्र्डवाइड थ्रेट असेस्मेन्ट अफ दी यूएस इन्टेलिजेन्स कम्युनिटी को तर्फबाट प्रकाशित एक प्रतिवेदनमा उल्लेख भएअनुसार आउने वर्षहरूमा विश्व राजनीति निरन्तर जटिलतातर्फ अघि बढिरहने छ। त्यसलाई आफ्नो पक्षमा दोहन गर्ने उद्देश्यले प्रमुख शक्ति राष्ट्रहरू र क्षेत्रीय स्तरका आक्रामक रणनीति अवलम्बन गरिरहेका मुलुकहरूबीच जुनसुकै बेलामा द्वन्द्व र युद्धको स्थिति शीतयुद्धको अवधिमा भन्दा धेरै बढी छ। त्यति मात्रै नभएर आतंककारी समूहको हातमा आणविक बम जस्ता आम विनासकारी हतियारको पहुँचको सम्भावना पनि निरन्तर बढिरहेको छ।

प्रतिवेदनअनुसार अमेरिकाका परम्परागत मित्र राष्ट्रहरू र सामरिक साझेदार मुलुकहरू पनि अमेरिकाका अन्तर्राष्ट्रिय प्रतिवद्धताहरूलाई पालना गर्ने अमेरिकी क्षमता र इच्छाबारे आश्वस्त हुन नसकिरहेको अवस्थामा उनीहरू आफ्ना नीतिहरूलाई पुनर्संयोजन गर्ने अवस्थामा पुगेका छन्।

अर्कोतिर, समग्र विश्वको भूराजनीतिक व्यवस्था र स्थिरताका कारक शक्तिहरू आपसमै द्वन्द्वरत रहेकाले अन्तर्राष्ट्रिय कानुनमा आधारित विश्व व्यवस्थामाथि चुनौती बढिरहेको र साविकका शक्ति राष्ट्रहरूका समूह बाहिरका मुलुकहरू माझको नयाँ रणनीतिक गठबन्धन तथा अनौपचारिक रणनीतिक सञ्जालहरूले विश्व व्यवस्थाभित्र आपसी सहयोग सम्बन्धमा पनि पर्याप्त दबाब बढाइरहेको अवस्थाप्रति अमेरिकाको गम्भीर दायित्व निर्माण भएको पनि प्रतिवेदनले उल्लेख गरेको थियो।

.पछि छैनन् रूस र चीन

डेनियल आर. कोट्सको उपरोक्त प्रतिवेदनअनुसार अमेरिका तथा अमेरिकी गठबन्धनका राष्ट्रहरूको सैनिक क्षमता र प्रभावकारितालाई शिथिल पार्ने र भविष्यमा आइपर्दा प्रयोग र प्रहार पनि गर्ने उद्देश्यले चीन र रूसले अन्तरिक्षमा उपग्रह नष्ट गर्ने एकीकृत हतियार प्रणाली तैनाथ गरेका छन्। केही वर्षभित्रैमा ती पूर्ण प्रयोगको स्थितिमा पुग्नेछन्। ती हतियारमा अन्तरिक्षबाट अन्तरिक्षमा र अन्तरिक्षबाट पृथ्वीमा प्रहार गर्नसमेत सकिनेछन्।

सार्वजनिक र कूटनीतिकरूपमा रुस र चीनले अन्तरिक्षलाई शान्तिपूर्णरूपमा मात्रै उपयोग गर्ने र त्यहाँ हतियार प्रणाली विकास नगरिने र अन्तरिक्षमा हतियार लैजाने पहिलो मुलुक नहुने घोषणा गरेको भए पनि व्यवहारमा भने उनीहरूले त्यसो नगरिरहेको उल्लेख पनि उक्त प्रतिवेदनले गरेको छ।

गएको जनवरी ३० मा वासिंगटन फ्रि बिकनमा बिल गेर्जले उल्लेख गरेअनुसार चीनले पृथ्वीको तल्लो र मध्य कक्षमा स्थापित अमेरिकाका पर्यवेक्षण उपग्रहहरूलाई लक्ष गरेर नष्ट गर्नसक्ने आणविक हतियार जडिएका क्षेप्यास्त्र प्रणालीलाई तैनाथ गर्ने क्षमता आर्जन गरिरहेको छ। अन्तरिक्षमा तैनाथ उपग्रहहरूलाई नजिकैबाट आक्रमण गर्न सकिने उपग्रहको पनि उनीहरूले परीक्षण गरिसकेको गेर्जले उल्लेख गरेका छन्।

नेसनल इन्स्टिच्युट फर पब्लिक पलिसीको एक प्रतिवेदनलाई उद्धृत गर्दै गेर्जले दिएको जानकारीअनुसार २०१६ मा अन्तरिक्षमा ४३ मुलुकका सात सय ८० उपग्रहहरू थिए र तीमध्ये पृथ्वीको कक्षमा परिभ्रमण गरिरहेका ३७ उच्च महत्व र क्षमताका उपग्रहहरू रुस र चीनको प्रहार क्षमताभित्र आइरहेका छन्।

कुनै ध्वंसात्मक गतिविधिमा संलग्न समूह वा आतंककारी संगठनहरूका सम्भावित प्रहारविरुद्ध सरकारहरूसँग भूमिगत सुविधा र संरचनाहरूको सुरक्षासम्बन्धी पर्याप्त प्राविधिक र सांगठानिक क्षमताहरूको अभाव विश्वव्यापी रूपनै देखिइरहेको छ।

रुसले प्रतिवर्ष पाँच अर्ब डलरको लगानीमा उपग्रहविरोधी सेना तयार गरिरहेको, जमिनबाटै अन्तरिक्षमा प्रहार गर्न सकिने नुडोल भनिने क्षेप्यास्त्रको २०१६ को डिसेम्बरमा नै तेस्रो परीक्षण गरिसकेको र पृथ्वीबाट अन्तरिक्षमा तैनाथ उपग्रहहरूको नियन्त्रण प्रणालीलाई अवरुद्ध गर्ने साइवर हतियार क्षमता पनि आर्जन गरिसकेको छ।

रुसका जमिनबाट आकाशमा प्रहार गर्ने एस तीन सय, चार सय र पाँच सय श्रेणीका क्षेप्यास्त्रहरूको क्षमता पृथ्वीको कक्षलाई लक्ष गर्नसक्ने भएको बताइएको छ। मारक क्षमताका उपग्रहहरूलाई नियन्त्रण गर्ने चार उपग्रहहरूलाई भने रुसले २०१४ मा नै तैनाथ गरिसकेको थियो भनेर गेर्जले उक्त लेखमा उल्लेख गरेका छन्।

अमेरिकी प्रतिनिधिसभाले गत वर्षको जुलाइमा नै अन्तरिक्ष सेना स्पेस कोर गठन गर्ने विधेयकलाई पारित गरेका थियो। न्युयोर्क टाइम्समा एमिली कोक्रेनीले उल्लेख गरेअनुसार सो सभाले दुई सय २७ रिपब्लिकन सदस्य र एक सय १७ डेमोक्रेट सदस्यहरू गरी तीन सय ४४ जनाले सो विधेयकको पक्षमा र ८१ जनाले विपक्षमा मतदान गरेका थिए। त्यतिखेर ह्वाइटहाउस र पेन्टागन त्यस्तो अन्तरिक्ष सेनाको गठनमा त्यति उत्साहित नभए पनि र अमेरिकी वायु सेना पहिलेदेखि नै त्यसको विपक्षमा रहेको भए पनि प्रतिनिधिसभाले विधेयक पास गरिसकेको र अब आएर राष्ट्रपतिको आदेश पनि आइसकेपछि सिनेट, पेन्टागन र वायु सेनाबीच सहमति र समर्थनको कुनै विकल्प बाँकी नरहेको देखिन्छ।

सामान्य स्मार्ट मोबाइल फोनमा पनि जडिनेग्लोबल पोजिसनिङ् सिस्टम (जीपीएस) देखि मौसम भविष्यवाणी गर्ने उपकरणहरूको सम्बन्ध अन्तरिक्षमा तैनाथ भूउपग्रहहरूसँग हुने अवस्थामा ठूला शक्तिराष्ट्रहरूको सेना सम्पूर्णरूपमा अन्तरिक्षमा स्थापित भूउपग्रहहरूबाट प्राप्त हुने सूचनाहरूमा आधारित हुन्छन्। एक प्रसिद्ध सामरिक र अन्तर्राष्ट्रिय मामिलासम्बन्धी अमेरिकी थिंकट्यांकका हवाई र अन्तरिक्ष सुरक्षासम्बन्धी परियोजनाका निर्देशक टोड ह्यारिसनलाई उद्धृत गर्दै ८ अगस्ट २०१७ मा रसेल बम्र्यानले दी एटलान्टिकमा उल्लेख गरेअनुसार आधुनिक लडाईं पृथ्वीमा भन्दा पहिला अन्तरिक्षमा लडिन्छ अन्तरिक्षमा तैनाथ सैन्य क्षमताको बलमा नै संसारको कुनै भागमा आफ्ना लक्षहरूमा बम प्रहार गरिन्छ। अन्तरिक्षमा त्यस्तो सैन्य क्षमता विकास गरिएको छैन भने पृथ्वीमा पनि विजय सम्भव छैन।

.भूमिगत र सुरुङ युद्धका लागि अमेरिकी सैन्य बल

२६ जुन २०१८ मा प्याट्रिक टुकरको अर्को लेख डिफेन्स वनमा नै प्रकाशित छ। डिफेन्स इन्टेलिजेन्स एजेन्सीका निर्देशकको भनाइलाई आधार मान्दै उनले लेखेअनुसार अमेरिकी सेना भूमिगत र सुरुङ युद्धको लागि नयाँ सैन्य बल गठन गर्ने तयारी गरिरहेको छ।

निर्देशक लेफ्टिनेन्ट जनरल रोबर्ट आस्लेले डिफेन्स वन टेक्नोलोजी समिटमा उल्लेख गरेअनुसार २०४० सम्ममा संसारको दुईतिहाइ जनसंख्या सहरहरूमा बस्ने छन्। मुलुकहरूले आफ्ना सम्पूर्ण विद्युत्, सञ्चार, यातायात तथा सामरिक र रणनीतिक सेवा क्षेत्रको सञ्चालन, व्यवस्थापन र नियन्त्रणका प्रणालीहरूलाई पनि भूमिगतरूपमा नै व्यवस्थापन गर्ने भएकाले भूमिगत युद्ध क्षेत्र विश्वको नविन तर अत्यन्त महत्वपूर्ण क्षेत्र बन्दै गएको छ।

सन् २०१७ मा अमेरिकी सेनाले आफ्ना २६ वटा ब्रिगेडलाई संसारभरका ठूलाठूला घना बस्तीका सहरहरूका भूमिगत सेवा र सुरक्षासम्बन्धी सुविधाहरूको क्षेत्रमा गरिने युद्धसम्बन्धी उपकरण र सामग्रीहरूको उपयोगसम्बन्धी प्रशिक्षण प्रदान गरेको थियो।

डिफेन्स अड्भान्स्ड रिसर्च प्रोजेक्ट्स एजेन्सी अर्थात् दर्प भनिने अमेरिकी सेनाको एउटा विशिष्ट र असाधारण महत्वको संरचना छ। अक्टोबर १९५७ मा सोभियत संघले स्पुटनिक नामको पहिलो भूउपग्रह प्रक्षेपण गरेपछि सैन्य प्रविधिको क्षेत्रमा अध्ययन, अनुसन्धान र आविष्कार र विकास गर्न नै दर्प को स्थापना भएको थियो। प्रतिरक्षा र सुरक्षा मामिलामा विशिष्ट विज्ञ तथा फरेन पलिसी पत्रिकाका सम्पादक रहेकी स्यारोन विन बर्गरले अमेरिकाको सैन्य प्रविधिसम्बन्धी इतिहासको आलोचनात्मक र महत्वपूर्ण पुस्तक दी इम्याजिनर्स अफ वार-दी अनटोल्ड हिस्टोरी अफ दर्प, दीपेन्टागन एजेन्सी द्याट चेन्ज्ड दी वल्र्ड मा सो संगठनका सफलता, असफलता र विकृतिबारे विहंगम चित्र प्रस्तुत गरेकी छन्। यहाँ के पनि विचारणीय छ भने सर्वप्रथम इन्टरनेटको आविष्कार सैन्य प्रयोजनको लागि दर्पले नै गरेको थियो। सैन्य र अन्य वैज्ञानिक र प्राविधिक अध्ययन अनुसन्धानमा सीमित इन्टरनेट सम्पूर्णरूपमा व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि भने मे १९९५ देखि मात्रै उपलब्ध गराइएको होअ

दर्पले नै २१ डिसेम्बर २०१७ मा प्रकाशित आफ्नो एउटा संक्षिप्त रिपोर्टमा आधुनिक सहरहरूको अभिन्न अंगको रूपमा रहेका भूमिगत संरचनाहरूबारेको अज्ञानताका कारण उत्पन्न हुने सुरक्षा संकटको सामनासम्बन्धी ज्ञान र प्रविधि आविष्कार तथा उत्पादनका लागि विश्वव्यापीरूपमा वैज्ञानिक र प्राविधिक समुदायसँग सहकार्यको लागि आह्वान गरेको छ। स्मरणीय छ कुनै ध्वंसात्मक गतिविधिमा संलग्न समूह वा आतंककारी संगठनहरूका सम्भावित प्रहारविरुद्ध सरकारहरूसँग भूमिगत सुविधा र संरचनाहरूको सुरक्षासम्बन्धी पर्याप्त प्राविधिक र सांगठानिक क्षमताहरूको अभाव विश्वव्यापी रूपनै देखिइरहेको छ।

२४ जुन, २०१८मा अमेरिकी सेनासम्बन्धी एउटा वेबसाइट मिलिटरी डटकम माम्याथ्युकोक्सद्वारा लिखित एक आलेखमा अमेरिकी सेनाले आफ्ना सिपाहीहरूलाई भूमिगत युद्ध प्रशिक्षणको लागि ५० करोड डलर खर्च छुट्याएको छ। भूमिगत सुरुङहरूमा, ढल प्रणालीहरूमा, अन्धकार, स्वच्छ हावाविहीन दुर्गन्धित वातावारण र कुनै सुरक्षा आवरणविहीन स्थलमा दुश्मन शक्तिहरूले गर्ने बम विस्फोट तथा आगजनी जस्ता स्थितिहरूलाई नियन्त्रणलगायतका प्रतिकूल र खतरनाक परिस्थितिमा काम गर्न त्यस्तो प्रशिक्षण प्रदान गरिने छ।

दर्पले भूमिगत युद्ध, गुप्तचरीसम्बन्धी सूचना संकलन र तत्काल कारबाहीका क्षेत्रकसमेत पहिचान गरेर त्यहाँका गडबड मच्चाउने र विध्वंस गर्ने शक्ति र समूहलाई तत्काल नियन्त्रण गर्नसक्ने प्रविधि र युद्धकला पनि विकास गरिरहेको छ।

के ले जिताउँछ युद्ध ? श्रेष्ठ हतियारले कि उच्च नैतिक बलले ?

फरेन अफियर्स पत्रिकामा गएको फेबु्रअरी १३ मा प्रकाशित एउटा समीक्षामा स्टेफन पिटर रोजेनले लेखेअनुसार चीन र रुस मात्रै नभएर इरान र इरान समर्थित हेजबुल्लासम्मले पनि लामो दूरीका लक्षहरूमा अचूक प्रहार गर्न सक्छ। निःसन्देह चीन, रुस, इरान, उत्तर कोरिया र हेल्बुल्लाहको त्यो क्षमता अमेरिकाको त्यस्तो क्षमतासँग तुलना गर्न सकिँदैन तर त्यसको अर्थ फेरि उनीहरू उक्त क्षेत्रमा अमेरिकालाई चुनौती दिन नै नसक्ने स्थितिमा छन् भन्ने होइन।

दुवै पक्षका उत्तिकै अचुक प्रतिरक्षात्मक र आक्रामक प्रहार क्षमताको पछाडि भने प्रभावकारी अन्तरिक्ष सैन्य क्षमताले नै काम गरिरहेको हुन्छ।

पूर्व अमेरिकी रक्षामन्त्री डोनाल्ड रम्सफिल्डको अध्यक्षतामा गठित स्पेस कमिसनले २००१ मा प्रस्तुत आफ्नो प्रतिवेदनमा दोस्रो विश्व युद्धको अवधिमा अमेरिकाको पर्ल हार्वरमाथि जापानले गरेको आकस्मिक आक्रमणअनुरूप नै अन्तरिक्षमा अमेरिकी उपग्रहहरूमाथि आक्रमण हुनसक्ने भएकोले तत्काल त्यसको प्रतिरक्षाको लागि पूर्व तयारी गर्न सिफारिस गरेका थिए। अन्य कुनै मुलुकको तुलनामा अन्तरिक्षमा अमेरिकी सुरक्षा हित बढी निर्भर रहेको पनि रम्सफिल्ड कमिसनको धारणा थियो। रुस र चीनले अन्तरिक्षलाई हातहतियार मुक्त क्षेत्र बनाउने सन्धिको प्रस्ताव गरिरहेको भए पनि सम्भावित स्पेस पर्लहार्वरको सम्भावनायुक्त चिन्तालाई रम्सफिल्ड प्रतिवेदनले व्यक्त गरेको थियो। विश्वको हतियार बजारमा उपलब्ध कुनै पनि साधनले अमेरिकाका अन्तरिक्षमा रहेका सूचना उपग्रहहरूलाई ध्वस्त पारिदिन कुनै पनि अमेरिकाविरोधी मुलुक र संगठनले सक्ने रम्सफिल्ड कमिसनको निष्कर्षले पनि अमेरिकालाई आफ्नो अन्तरिक्ष क्षमता वृद्धि गर्न अभिप्रेरित गरेको थियो।

पछि राष्ट्रपति जर्ज डब्ल्यू बुसद्वारा पुनः रक्षामन्त्रीमा नियुक्त भएपछि रम्सफिल्डले अमेरिकी वायु सेनालाई सोसम्बन्धी रणनीति निर्माण गर्ने आदेश पनि दिएका थिए।

म्याक्स बुट लिखित विख्यात पुस्तक वार मेड न्यु मा उल्लेख भएअनुसार अन्तरिक्षमा उपग्रहलाई नष्ट गर्न कुनै बम चाहिन्न। प्रतिघन्टा झन्डै २३ हजार किलोमिटरको तीव्र गतिले परिभ्रमण गरिरहने त्यस्ता उपग्रहको मार्गमा कुनै क्षेप्यास्त्रद्वारा एउटा सानो गुच्चा वा गुच्चाको आकारको ढुंगाले हानिदिए पनि ती उपग्रहहरू ध्वस्त हुन पुग्छन्। अन्तरिक्षमा छोडिएका साना साना आधा वा एक किलोग्राम वजनका उपग्रहहरूले पनि ठूला उपग्रहहरूलाई छेक्न र आत्मघाती आक्रमण गरेर नष्ट बनाइदिन सक्छन्। चीन, रुस र स्विडेनहरूले त्यस्ता साना उपग्रहहरू एक दशकअघि नै विकास गरिसकेको पनि बुटको उक्त पुस्तकमा पढ्न सकिन्छ।

अमेरिकाले पृथ्वीमा रहेका शत्रु पक्षका क्षेप्यास्त्रहरूलाई नष्ट पारिदिने लेजर किरणलाई अन्तरिक्षमा स्थापना गर्नेबारे अनुसन्धान गरिरहेको र अन्तरिक्षमा तैनाथ उपग्रहहरूबाट टिटानियमजस्ता धातुबाट बनेका किलाहरू प्रहार गरेर पनि ती क्षेप्यास्त्रहरूलाई काम नलाग्ने बनाउन सकिने पनि बुटले उल्लेख गरेका छन्। उपरोक्त सन्दर्भमा स्वनामधन्य नेपोलियन बोनापार्ट र ब्रिटिस सेनाका एक उच्च अधिकारी सैन्य इतिहास र सिद्धान्तका धुरन्धर ज्ञाता र ती सम्बन्धमा ४५ पुस्तकका लेखक मेजर जनरल जोन फ्रेडरिक चाल्र्स फुलरका दुई प्रतिनिधि कथन मननीय देखिन्छन्।

नेपोलियनअनुसार युद्धमा नैतिक पक्षको भूमिका तीन चौथाइ हुन्छ र सैन्यशक्ति सन्तुलनको भूमिका भनेको एक चौथाइ मात्रै हो। तर फुलरअनुसार उच्चकोटीका उपयुक्त हतियार भयो भने ९९ प्रतिशत युद्ध जितिन्छरणनीति, कमान्ड, नेतृत्व, साहस, अनुशासन, आपूर्ति र नैतिक वा अन्य पक्षहरूको भूमिका भनेको एक प्रतिशत मात्रै हो। यो सवालमा नेपोलियन वा फुलर को ठीक छन् ? निर्णय सैन्य विज्ञानका जानकारहरूले नै गरुन्।

भट्टराई नेपाल इन्स्टिच्युट फर स्ट्र्याटिजिक स्टडिज (निस) सँग सम्बद्ध छन्।

-केशवप्रसाद भट्टराई