नरेन्द्र मोदी र नरेन्द्र मोदी

Publish On: June 12, 2018

भारत, चीन, अमेरिका, भेटिकन र युरोपियन युनियनका मुलुकहरू, उनीहरूबाट लाभ र अवसर प्राप्त नेपाली र विदेशी गैरसरकारी संस्थाहरूले आफ्ना राजनीतिक, सामाजिक, धार्मिक र सांस्कृतिक एजेन्डाहरूलाई नेपालमा स्थापना गर्न पहिला नेपाल राष्ट्र, राज्य, समाज र यहाँको इतिहास, धर्म, संस्कृति र समुदायविशेषलाई अपराधीका रूपमा देशविदेशमा प्रस्तुत गरे। घृणा र द्वेषलाई संस्थागत गरिदिए। त्यसैको परिणाम आज भारत तथा चीनका बृहत् राष्ट्रिय हितमाथि समेत चुनौती पुग्ने गरी नेपालले आफ्नो राष्ट्रिय एकता र अखण्डतामाथि चुनौती बेहोरिरहेको छ। त्यसको जटिल भूराजनीतिक आयामबारे हाल आएर भारत र चीन दुवैले बुझ्न थालेको देखिन्छ।

नेपाललाई जे भोगाइयो त्यही नरेन्द्र मोदी, उनको दल र उनको मुलुकलाई भोगाउन शक्तिशाली व्युहरचना भइरहेकोबारे भारतमा चिन्ता बढ्न सुरु भएको छ।

भारतीय राजनीतिको भन्दा ठूलो आकारमा भारतभित्र र विश्व समुदायमाझ समेत असाधारण लोकप्रियता र सम्मान आर्जन गरिरहेका मोदी उनका विरोधीहरूका लागि पार पाउनै नसकिने चुनौती बनेका छन्। स्पष्ट छ, मोदीविरुद्धका प्रहारहरू आगामी दिनमा झन् क्रूर र निर्मम बन्दै जानेछन्। त्यसैले आगामी वर्ष भारतमा हुने आमनिर्वाचनमा नरेन्द्र मोदीलाई राजनीतिक र भौतिकरूपमा समाप्त पार्ने विराट् राष्ट्रिय र अन्तर्राष्ट्रिय चक्रव्युहलाई नरेन्द्र मोदी, उनको दल र भारत राष्ट्र र राज्यले कसरी सामना गर्दछ त्यसले लामो समयसम्म नेपाल, दक्षिण एसिया र विश्व राजनीतिलाई समेत प्रभाव पार्ने निश्चित छ।

नरेन्द्र मोदी नामका एक पिछडिएको समुदायको गरिब चिया बेच्ने बालक विशाल भारतको एउटा प्रान्तको मात्र नभएर मुलुककै सर्वाधिक सफल मुख्यमन्त्री रहे। भारतका २९ मुख्य मन्त्रीमध्ये एक र देश तथा विदेशमा व्यापक घृणा अभियानको सिकार बनाइएका मोदी मुख्यमन्त्रीबाट एकैपटक भारतको प्रधानमन्त्री बन्न सफल भए। प्रधानमन्त्री मात्रै भएनन्, वर्तमान विश्वका एक प्रमुख र अत्यन्त सम्मानित राजनेता पनि बने।

मोदीको राजनीतिक यात्रा हिजो पनि सहज थिएन, भोलि पनि रहन्न नै। तर त्यो हैसियतबाट उठेर आफ्नै निष्ठा र पौरखको बलमा विश्वका शक्तिशाली र प्रभावशाली राजनेताको तहमा आइपुग्ने क्षमता, कौशल, दृढ निष्ठा र इच्छाशक्तिका मोदीलाई आफ्ना सीमाको र क्षमताको ज्ञान भएकै हुनुपर्छ। भारतका घोर दक्षिणपन्थीदेखि घोर वामपन्थी शक्तिसम्म मोदीविरोधी एउटै धु्रवमा केन्द्रीकृत हुनु भनेको पनि मोदीको शक्ति र प्रभावको परिचय हो।

स्मरणीय छ, भारतका २९ मध्ये भारतीय राष्ट्रिय कांग्रेस र उसका सहयोगी दलले तीनमा, विभिन्न क्षेत्रीय दलहरूले पाँचमा र बाँकी २१ मा भारतीय जनता पार्टी र उसका सहयोगी दलहरूले शासन चलाइरहेका छन् जबकि २०१४ मा मोदी प्रधानमन्त्री भएर आउँदा जम्मा आठ प्रान्तमा मात्रै भारतीय जनता पार्टी र उसका सहयोगी दलहरूको शासन थियो।

स्वाभाविक रूपमा २०१४ को निर्वाचन अवधिमा मोदी र उनको दलले गरेका कतिपय महत्वपूर्ण वाचा पूरा भएका छैनन्। अभाव र असफलता पनि छन्। तर गएको मे २९ मा अमन ठक्करले दी डिप्लोम्याटमा उल्लेख गरेअनुसार मोदीका उदार व्यवसायमैत्री नीतिका कारण गएको चार वर्षमा हरेक वर्ष ५२ अर्ब डलरभन्दा बढी रकम प्रत्यक्ष बाह्य लगानीको रूपमा भारत भित्रिएको छ र यो इतिहासमै सबैभन्दा बढी हो। मुद्रास्फीतिको दर नियन्त्रणमा छ। टाइम्स अफ इन्डिया र इकोनोमिक्स टाइम्स, इन्डियन एक्सप्रेसहरूले पनि त्यस्तै टिप्पणी गरेका छन्। यस अवधिमा भारत निरन्तर सात प्रतिशतको वृद्धिदर प्राप्त गर्ने विश्वका प्रमुख अर्थतन्त्रमध्ये पहिलो रहेको छ। गरिब घरपरिवार र ग्रामीण क्षेत्र लक्षित दर्जनौं प्रभावकारी कार्यक्रमले करोडौं भारतीयहरू लाभान्वित भएका छन्।

पाँच सय र हजार रुपैयाँका नोटको खारेजी र वस्तु तथा सेवा करका कारण केही समयका लागि भारतको आर्थिक वृद्धि दरमा ह्रास आए पनि छिट्टै भारतले त्यसलाई व्यवस्थापन गरेको थियो। टाइम्स अफ इन्डियाअनुसार गएको चार वर्षमा राजमार्गहरू निर्माणमा भारतले दोब्बर उपलब्धि हासिल गरेको छ, विद्युत् उत्पादनमा अत्यधिक वृद्धि भएको छ।

गएको चार वर्षको अवधिमा मात्र होइन, २००१ देखि २०१४ मा भारतको प्रधानमन्त्री निर्वाचित हुने बेलासम्म पनि उनको नियत र व्यक्तिगत चरित्रमा प्रश्न उठाउने ठाउँ उनले दिएनन्। आर्थिक सवालमा उनको सरकार कुनै आर्थिक विवादमा मुछिएको छैन। यति लामो समयसम्म प्रमुख कार्यकारिणीको पदमा रहने व्यक्तिका लागि स्वच्छ छविको यो मानदण्ड झन्डै असम्भव हो।

न सफल र शक्तिशाली छन् मोदी ?

दशकौंदेखि संसारका सबै प्रमुख राजनीतिक नेतृत्वहरूसँग निकट सम्पर्कमा रहेका विश्व आर्थिक मञ्चका संस्थापक तथा कार्यकारी अध्यक्ष क्लाउस स्वाबले उदय महुरकर लिखित एउटा पुस्तकको भूमिकामा मोदीमा आफ्नो मुलुकको विकास र समृद्धि निर्माणमा गहिरो ज्ञान भएको बताएका छन्। स्वाब स्वीकार गर्दछन् मोदीमा सशक्त मूल्य चेतना, भविष्य दृष्टि, सबैप्रति प्रबल करुणा, भावनात्मक लगाव र सबैलाई साथमा लिएर उनीहरूको विश्वासलाई संयोजन गरेर आफ्ना मूल्य चेतना, दर्शन र भविष्य दृष्टिलाई कार्यमा अनुवाद गर्ने अद्भुत इच्छाशक्ति छ। तिनै गुणहरूले मोदीलाई महान् नेता बनाएको विचार उनले उल्लेख गरेका छन्।

एउटा उदाहरण हेरौं गएको अप्रिल २७ र २८ मा मोदी चीनको वुहानमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग अत्यन्त सफल बताइएको अनौपचारिक शिखर वार्तामा थिए। त्यसपछि केही दिन भारतको कर्णाटक राज्यको विधानसभाको निर्वाचन अभियानमा संलग्न रहे। निर्वाचनको मौन अवधिमा मे ११ र १२ मा नेपाल आए। उनको नेपाल भ्रमणलाई दुवै देशले उत्साहजनक रूपमा सफल बताए। त्यसको १० दिनपछि, मे २१ मा मोदी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अनौपचारिक शिखर वार्ताका लागि सोची पुगे। रूससँगको विशेष रणनीतिक साझेदारी कायम गर्ने सवालमा मोदी उत्साहित भएकोबारे टाइम्स अफ इन्डियालगायतका भारतीय समाचारपत्रहरूले उल्लेख गरेका थिए। रूसका तास, स्पुतनिक न्युज एजेन्सीहरू र रसियन इन्टरनेसनल टेलिभिजन नेटवर्कले पनि उक्त भ्रमणलाई उत्साहजनक रूपमा सफल बताएका छन्।

लगत्तै जुन महिनाको १ तारिखमा बेलायतको इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्र्याटिजिक स्टडिजले आयोजना गर्ने गरेको र एसिया र युरोपका प्रमुख राष्ट्रहरूसहित अमेरिकाको तर्फबाट समेत उच्च राजनीतिक, सैनिक र कूटनीतिक अधिकारीहरूको सहभागिता हुने सांग्रिला डायलगको नामले हरेक वर्ष हुने विश्वविख्यात एसियाली सुरक्षा सम्मेलनमा मुख्य वक्ताको रूपमा सम्बोधन गर्न मोदी सिंगापुर पुगे। त्यहाँ भारतीय विदेश नीति सम्बन्धमा महत्वपूर्ण नीतिगत घोषणा गरे। त्यसको सात दिनपछि जुन ८ मा चिङ्दाओमा हुने सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा सहभागी हुन चीन पुगे।

त्यही बीचमा जुन ३ का दिन बंगालको खाडीमा उडिसाको छेउमा अवस्थित एपीजे कलाम टापुबाट लामो दूरीमा प्रहार गर्न सक्ने अग्नि पाँचौंको सफल परीक्षण भएको जानकारी भारतीय रक्षा मन्त्रालयले प्रेस विज्ञप्तिद्वारा दियो।

भारतचीनसँगका सम्बन्धका हकमा व्यावहारिक कूटनीतिका प्रयोक्ता मोदी र चिनियाँ राष्ट्रपति सीले विभिन्न शक्तिशाली दबाब र प्रभावबीच पनि विलक्षण सहयोग र सौहार्दता प्रदर्शन गरिरहेका छन्।

प्रेस ट्रस्ट अफ इन्डियाको समाचारलाई साभार गर्दै टाइम्स अफ इन्डियाले सोही मितिमा दिएको जानकारीअनुसार आणविक हतियार प्रहार गर्न सक्ने उक्त क्षेप्यास्त्रले पाँच हजार किलोमिटरसम्मको लक्षमा हान्न सक्छ।

यसबाट चीनबाट हुने सम्भावित प्रहारलाई बीचैमा रोक्न सक्ने क्षमता भारतलाई प्राप्त भएको बताइएको छ। अग्नि पाँचौंको उक्त छैटौं सफल परीक्षणसम्बन्धी नीतिगत र प्रक्रियागत सवालमा प्रधानमन्त्रीको गहिरो संलग्नता रहने नै भयो। करिब ४० दिनको अवधिको भारतजस्तो विशाल मुलुकको राज्य सञ्चालनको साविकका दायित्वसँगै पाँच महत्वपूर्ण विदेश भ्रमण, एउटा प्रान्तीय विधानसभाको व्यस्त निर्वाचन अभियान र अग्नि पाँचौंको परीक्षणसम्बन्धी नीतिगत र निर्णय प्रक्रियालाई समय दिन सक्नु मोदीबाहेकका जोकोहीलाई सम्भव लाग्दैनन्। गएको चार वर्षदेखि उनी यसरी नै काम गर्दै आएका छन्। दिनको १८ घन्टा खट्ने र चार वर्षको कार्यकालमा एक दिन पनि बिदा नबसेका मोदीको ऊर्जा, उत्साह र संवाद कुशलता र वत्तृत्व क्षमताले नै उनलाई असाधारणरूपमा लोकप्रिय भारतीय नेता र सम्मानित विश्व नेताको परिचय दिएको छ।

पाकिस्तानबाहेकका दक्षिण एसियाका साना छिमेकी राष्ट्रहरूसँग मोदी सरकारको सम्बन्धमा खासै ठूलो तनाव छैन। अमेरिका, जापान र युरोपका मुलुकहरूसँगको सम्बन्ध ऐतिहासिकरूपमा हार्दिक छ। चीनसँगको सम्बन्धमा दक्षिण, दक्षिणपूर्व र मध्य एसियामा आफ्ना लागि रणनीतिक क्षेत्र निर्माणसम्बन्धी प्रतिस्पर्धा छ, तर त्यसमा पनि शत्रुता र तनाव देखिन्न। दक्षिण एसिया र हिन्द महासागर क्षेत्रमा चीन भारतका परम्परागत रणनीतिक प्रभावका क्षेत्रमा चीन प्रवेश गरेको छ र पूर्वी र दक्षिण चीन सागर तथा मध्यएसियामा भारतले बलियो रणनीतिक प्रभाव क्षेत्र निर्माण गर्दै गएको छ। यसलाई दुवै मुलुकले सहजरूपमा लिएका छन्।

मोदी र प्रमुख शक्तिराष्ट्रहरू

२७ फेबु्रअरी २००२ मा हिन्दु तीर्थयात्रीहरू चढेको रेलमा मुस्लिम कट्टरपन्थीहरूले आगो लगाइदिए। महिला र बालबालिका गरेर ६० जनाको हत्या भयो। त्यसको विरोधमा भड्किएको हिंसामा हिन्दु र मुसलमान गरी एक हजार मारिए। उक्त हिंसाकाण्ड रोक्न गुजरातको मुख्यमन्त्रीको हैसियतमा प्रभावकारी भूमिका निर्वाह नगरेर धार्मिक हिंसा मच्चाउन परोक्ष सहयोग पुयाएको आरोपमा २००५ मा कूटनीतिक भिसाका लागि मोदीले गरेको आवेदन अस्वीकार गर्नुका साथै उनले साविकमा पाइरहेको साधारण पर्यटक भिसालाई पनि बदर गरेको सूचना भारतका लागि अमेरिकी राजदूत डेभिड सी मुल्फोर्डले २१ मार्च २००५ मा जारी गरेका थिए। अमेरिकाको अनुशरण गर्दै बेलायतलगायतका कतिपय युरोपेली मुलुकहरूले पनि त्यसै गरे।

भारतीय मूलका विख्यात अमेरिकी अर्थशास्त्री जगदीश भगवतीले कांग्रेस नेतृत्वको मनमोहन सरकारको आग्रहमा अमेरिकाले मोदीलाई त्यस्तो प्रवेशाज्ञा दिन अस्वीकार गरेको बताएको असोसिएटेड प्रेसको समाचारलाई हफिङ्टन पोस्ट्ले २०१४ को सेप्टेम्बर २४ मा उल्लेख गरेको थियो।

उक्त घटनामा मोदी दोषी नरहेको फैसला भारतीय सर्वोच्च अदालतले गरिसकेको भए पनि अमेरिका र युरोपका कतिपय मुलुकहरूले मोदीको भिसा खारेजी र बहिस्करणलाई यथावत् राखिरहेका थिए।

त्यतिखेर समग्रतामा भारतीय अर्थतन्त्रमा गिरावट आइरहेको, प्रगति अवरुद्ध रहेको र मुद्रास्फीति बढिरहेको अवस्थामा पनि मोदीको उद्योग र व्यापारमैत्री नीतिहरूका कारण गुजरात निरन्तर प्रगति गरिरहेको थियो। रोजगारका आकर्षक अवसर निर्माण भइरहेका र अन्य भारतीय राज्यहरूबाट रोजगारका लागि गुजरात आउने संख्यामा पनि निरन्तर वृद्धि भइरहेको थियो। गुजरातमा आन्तरिक र बाह्य लगानीकर्ताहरूले ठूलो उत्साह देखाइरहेका थिए। तिनमा युरोपीय र अमेरिकी लगानीकर्ताहरू पनि पर्याप्त संख्यामा थिए।

करिब नौ वर्ष आफूले अवाञ्छित घोषणा गरेको व्यक्ति मोदी आज अमेरिकाका लागि अत्यन्त प्रिय छन् र विश्वव्यापी अमेरिकी रणनीतिको सफलताका लागि मोदीको भारतलाई अमेरिकाले आफ्नो प्रमुख साझेदारको रूपमा ग्रहण गरेको छ। भारतचीनसँगका सम्बन्धका हकमा व्यावहारिक कूटनीतिका प्रयोक्ता मोदी र चिनियाँ राष्ट्रपति सीले विभिन्न शक्तिशाली दबाब र प्रभावबीच पनि विलक्षण सहयोग र सौहार्दता प्रदर्शन गरिरहेका छन्।

हालैको सांघाई सहयोग संगठनको शिखर बैठकमा सहभागी हुन चिङ्दाओमा पुग्नेबित्तिकै मोदी र सीबीच हार्दिक वार्ता सम्पन्न भयो। दुवै नेताले केही अघि मात्रै बुहानमा सम्पन्न अनौपचारिक वार्तामा भएका सहमतिको लेखाजोखा गरेको, परिणाममा सन्तुष्ट रहेको र अर्को वर्ष भारतमा हुने अनौपचारिक शिखर बैठकको निमन्त्रणालाई राष्ट्रपति सीले सहर्ष स्वीकार गरको जानकारी पनि भारतीय समाचारमाध्यमले दिएका छन्।

मोदीको भ्रमण अवधिमै बैंक अफ चाइनाको पहिलो शाखा मुम्बईमा खोल्न, ब्रह्मपुत्र नदीको जल बहाव र अन्य सूचनाहरू आदानप्रदान गर्न र बासमतीबाहेकका अन्य जातका चामल चीन निर्यात गर्ने सहमतिपत्रमा दुवै मुलुकले हस्ताक्षर गरेको जानकारी इन्डियन एक्सप्रेसले दिएको छ।

चिनियाँ वर्चस्वको एउटा राजनीतिक र सुरक्षा संगठनको परिचय बोकेको सांघाई सहयोग संगठनमा भारतको सदस्यतालाई लिएर प्रश्नहरू छन्। तर आतंकवाद, पृथकतावाद र राजनीतिक अतिवादविरुद्ध लक्षित उक्त संगठनका सदस्य राष्ट्रहरूसँग भारतका साझा सरोकार छन्। चीन र रूसजस्ता संसारका दोस्रा र तेस्रा ठूला सैनिक शक्तिसम्पन्न मुलुकहरूको सदस्यताको संगठनसँगको आबद्धताले ती मुलुकलाई भारतका सुरक्षा र रणनीतिक लक्ष तथा सरोकारहरूमा प्रतिबद्ध बनाइराख्न र संगठनका सबै सदस्य राष्ट्रहरूको समान चिन्ता र चुनौती बनेको इस्लामिक आतंकवादविरुद्धका साझा रणनीति निर्माणमा प्राप्त हुने सहयोगका कारण पनि भारतलाई सो संगठनको महत्व रहेको देखिन्छ। अमेरिकासँगको सम्बन्धमा निरन्तर चुनौती बेहोरिरहेका तर भारतको राष्ट्रिय हितका लागि महत्वपूर्ण रहेका रूस र इरानसँग निकट सम्बन्ध बनाइराख्न पनि सांघाई सहयोग संगठनको औचित्य भारतले बुझेको छ। पाकिस्तानलाई प्राप्त हुने चिनियाँ र रूसी सैनिक सहयोगलाई भारतविरुद्ध प्रयोग हुन नदिन पाकिस्तानमाथि बलियो दबाब निर्माणलगायतका सवालमा उक्त संगठनजत्तिको अर्को प्रभावकारी माध्यम भारतका लागि उपलब्ध नहुने यथार्थ पनि यहाँ विचारणीय हुन आउँछ।

सांघाई स्पिरिट भनिने उक्त संगठनका साझा प्रतिबद्धतामा भारतले असहमति जनाउनुपर्ने कुनै ठाउँ नरहेकाले पनि भारतले यसको सदस्यता ग्रहण गरेको बुझ्न सकिन्छ।

मुख्य कुरो एउटा महान् शक्तिको रूपमा उदाउने क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वाकांक्षा भारतले राखेको छ। भारतजस्तो विशाल र गौरवपूर्ण अतीत रहेको र भविष्यका लागि अपार सम्भावना बोकेको मुलुकले त्यो अपेक्षा राख्नु अस्वाभाविक होइन। मोदीले भारतको त्यो आकांक्षालाई सशक्त रूपमा राष्ट्रियअन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरिरहेका छन्।

तर त्यस्तो उच्च राष्ट्रिय महत्वाकांक्षा र आबद्ध राजनीतिक, आर्थिक र सुरक्षा हितका कुरा एकपक्षीय हुँदैनन्। कुनै एउटा मुलुकको सुरक्षा घेरोभित्र रहेर उसका ती लक्ष्यहरू प्राप्त हुँदैनन् र अत्यन्त सशक्त र प्रभावकारी रणनीतिक स्वायत्तताको नीतिले मात्र ती लक्ष प्राप्त गर्न सकिन्छ भन्नेमा मोदी विश्वस्त देखिन्छन्। सांघाई सहयोग संगठनको भारतको सदस्यताले त्यसैलाई प्रतिविम्बित गर्दछ।

अझै महत्वपूर्ण कुरो भनेको अमेरिकाको युरोप, रूस र चीनसँगको सम्बन्धमा बढ्दो अविश्वासको स्थितिले विश्व व्यवस्थाको स्थिरतामाथि नै प्रश्न उठाइदिएको छ। त्यो अस्थिरतालाई आफ्नो मुलुकको शान्ति र स्थिरताविरुद्ध हुन नदिन पनि चीन, रूसलगायतका शक्तिराष्ट्रहरूसँगको सम्बन्धलाई सहज र स्थिर बनाउने चुनौती भारतसामु विद्यमान छ। सांघाई सहयोग संगठनको सदस्यताले भारतलाई त्यो चुनौती सामना गर्न भर र बल दिनेमा मोदी विश्वस्त देखिन्छन्।

भट्टराई नेपाल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिज (निस) सँग सम्बद्ध छन्।

-केशवप्रसाद भट्टराई