अमेरिका र युरोपको तनाव सुख

Publish On: July 10, 2018

अमेरिका र युरोपबीचको निकटता दुवैको वर्तमान र भविष्यको लागि उत्तिकै अपरिहार्य छ

भोलि र पर्सी अर्थात जुलाई १११२ का लागि तय भएको र बेलायत, जर्मनी, फ्रान्सलगायत युरोपका २७ र अमेरिका र क्यानाडा गरी २९ मुलुकहरूको सैनिक संगठन (उत्तर अट्लान्टिक सन्धि संगठन (नाटो) को विघटनको सम्भावना रहेकोबारे नाटोका महासचिव तथा नर्वेका पूर्व प्रधानमन्त्री जेन्स स्टोल्टेन्बर्गले गएको जुन २१ मा बेलायतको ल्याङक्यास्टर हाउसमा बताएको एसोसिएटेड प्रेससहितका अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले उल्लेख गरेका थिए।

व्यापार, मौसम परिवर्तन, रुससँगको सम्बन्ध, इरानसँगको आणविक सन्धि र नाटो सदस्य राष्ट्रहरूको प्रतिरक्षा दायित्व निर्वाहमा युरोपका मुलुकहरूको अमेरिकासँगको बढ्दो मतभेदको सन्दर्भमा नाटो महासचिबको उक्त धारणा आएको थियो। नाटो सधैं बाँचिरहन्छ भन्ने कुरा कुनै ढुंगाको अक्षर नभएकाले नाटोको जीवन सुनिश्चित नभएको तर आफूहरूले त्यसलाई बचाउन भरमग्दुर प्रयास गर्ने पनि उनले बताएको एसोसिएटेड प्रेसले उल्लेख गरेको थियो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वे, बेल्जियमलगायतका मुलुकका प्रधानमन्त्रीहरूलाई उनीहरूको प्रतिरक्षा बजेटमा वृद्धि गर्न गरेको पत्राचार पनि सार्वजनिक भइरहेका छन्। सार्वजनिकरूपमा त्यसबारेका ट्रम्पका प्रतिक्रियाहरूलाई नाटो राष्ट्रहरूको प्रतिष्ठामाथिको प्रहारको रूपमा मिलिटरी टाइम्सले २५ मे २०१७ मा उल्लेख गरेको थियो। मिलिटरी टाइम्सअनुसार गत वर्षको डिसेम्बर १२ मा नाटो राष्ट्रहरूले आफ्नो प्रतिरक्षा बजेटलाई दुई प्रतिशत पुर्‍याउने सम्बन्धमा गरेको प्रतिवद्धता कुनै कानुनी दस्ताबेज नभएर राजनीतिक मात्र भएको भन्ने महासचिव स्टोल्टेन्बर्गको भनाइ थियो। स्टोल्टेन्बर्गको त्यो दाबी राष्ट्रपति ट्रम्पविरुद्ध ठाडो चुनौती थियो।

नाटो राष्ट्रहरूको करिब नौ सय ४६ अर्ब डलरको प्रतिरक्षा बजेटमा अमेरिकी हिस्सा मात्रै करिब सात सय चार अर्ब डलर अर्थात झन्डै तीन चौथाइ छ। २१ हजार अर्ब डलरभन्दा बढी राष्ट्रिय ऋणभार बोकिरहेको अमेरिकाका करदाताको पैसामा युरोपका विकसित र समृद्ध मुलुकहरूले सुरक्षा प्राप्त गर्ने र आफ्नो आय लोकरिझाइका कार्यक्रमहरूमा खर्च गर्ने गरेकोमा पनि ट्रम्पको असन्तुष्टि रहेको बुझ्न सकिन्छ।

अमेरिका फस्ट भनिने ट्रम्पको नारा र नाटोलाई म्याद गुज्रिएको संगठन भनेर उनले गरेको टिप्पणीले युरोपका नाटो राष्ट्रहरूलाई सुरुदेखि नै झस्काएको थियो। अस्थिर र अन्यौलग्रस्त विश्व व्यवस्थाको छायामुनी भोलिदेखि ब्रसेल्समा सुरु हुने नाटो राष्ट्रहरूको शिखर सम्मेलन र त्यसको पाँच दिनपछि फिनल्यान्डको राजधानी हेलसिन्कीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच तय भएको प्रथम शिखर बैठकले विश्वको र खास गरेर युरोपको ध्यानाकर्षण गराइरहेको छ।

गएको अप्रिलमा फ्रेन्च राष्ट्रपति इम्मानुएल म्याक्रोन अमेरिका भ्रमणमा थिए। सोही अवसरमा ह्वाइटहाउसमा एक्लाएक्लै भएको एउटा वार्तामा ट्रम्पले म्याक्रोनलाई युरोपियन युनियन परित्याग गर्न आग्रह गरेको र फ्रान्सले उक्त युनियनलाई परित्याग गरेमा अमेरिकाले युरोपियन युनियनसँगको भन्दा लाभदायी सर्तमा फ्रान्ससँग व्यापार सन्धिको प्रस्ताव राखेको बारे जुन २८ मा वासिंगटन पोस्ट्का स्तम्भकार जोस रोगिनले लेखेका छन्।

राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनका टिप्पणीहरूलाई प्रस्तुत गर्दै ३ जुलाई २०१८ मा सीएनएनको अनलाइन संस्करणमा प्रकाशित स्टेफेन कोल्लिन्सनको विश्लेषणअनुसार रुसअमेरिकाबीच सम्बन्ध सुधारको क्रममा जुलाई १६ मा हुने हेलसिन्की शिखर वार्ताको क्रममा क्रिमियामाथिको रूसी आधिपत्यलाई ट्रम्पले स्वीकार गर्न सक्ने बुझिन्छ, तर राष्ट्रपतिका लागि ह्वाइटहाउसकि प्रेस सेक्रेटरी सारा सेन्डर्सले त्यस्तो सम्भावनालाई अस्वीकार गरेकी छन्।

नाटो र युरोपियन युनियन युरोप र अमेरिकालाई जोड्ने एक अर्काको समृद्धि र सुरक्षालाई सुनिश्चित गर्ने प्रभावशाली संरचनात्मक प्रबन्धहरू मात्रै होइनन् युरोप र अमेरिकाबीचको सम्बन्धका मुख्य कडी नै हुन्।

भूराजनीतिक र आर्थिक मामिलाका अमेरिकी विश्लेषक चाल्र्स ओर्टेललाई उद्धृत गर्दै गएको जुन ३० मा रुसी समाचार संस्था स्पुटनिकले राष्ट्रपति ट्रम्प र पुटिनबीचको हेलसिन्की वार्ताले दुई मुलुकबीच मात्र नभएर युरोप र नाटोबीचका तनावहरूलाई पनि शान्त पार्ने बताएको छ। ओर्टेलअनुसार हेलसिन्की वार्ताले दुई मुलुकबीचको सम्बन्धमा अकल्पनीय सुधार ल्याउने सम्भावना बोकेकै छ तर हेलसिन्की वार्ताको त्यो परिणामले युरोप र अमेरिकाको सम्बन्धमा थप तनाव उत्पन्न गर्ने पनि निश्चित देखिन्छ।

अमेरिका र युरोपबीचको व्यापार युद्ध र विश्व नेतृत्वको जर्मन महत्वाकांक्षा

गएको जुन ८९ मा क्यानाडाको क्युबेकमा सम्पन्न जीसात समूहका मुलुकहरूको शिखर बैठकको अघिल्लो दिन फ्रेन्च राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफ्नो एउटा ट्वीटमा अमेरिकी राष्ट्रपतिलाई आफू एक्लिने कुराको कुनै पर्वाह नभएको तर त्यस्तै परे उक्त समूहका बाँकी छ राष्ट्रहरूले पनि छुट्टै सहमति गर्न पछि नपर्ने बताएर उक्त बैठक पूर्व नै अमेरिका र युरोपबीच व्यापार युद्धको बिगुल फुकेका थिए। जी सात समूहका अमेरिकाबाहेकका मुलुकहरूले अंगीकार गरेका मूल्यहरू र उनीहरूले प्रतिनिधित्व गरेका बजार मूल्यहरूले ती मुलुकलाई ऐतिहासिक दायित्व ग्रहण गरेर वास्तविक अन्तर्राष्ट्रिय शक्ति बनाएको उल्लेख गरेर पनि उनले अमेरिकालाई चुनौती दिएका थिए।

युरोपियन युनियन, क्यानाडा र मेक्सिकोबाट आयात हुने स्टिल र आल्मुनियममा गएको मेको अन्त्यदेखि अमेरिकी सरकारले भन्सार दरमा ३० र १० प्रतिशतले वृद्धि गरेको, जेरुसलममा अमेरिकी दूतावास स्थानान्तरण गरेको, रुसलाई जी सेभेनमा सम्मिलित गर्न दबाब दिएको र उत्तर कोरियाली तानाशाह किम जोङ् उनको प्रशंसा र उनीसँगको शिखर वार्तालाई अमेरिकाले दिएको महत्व आदिले पनि ट्रम्पकाप्रति युरोपेली राष्ट्रहरू रुष्ट बनेका छन्।

ग्रुप सातको बैठकमा समूहको तर्फबाट तयार गरिएको संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्न राष्ट्रपति ट्रम्पले अस्वीकार गरे। जुन १० मा रोयटर्सद्वारा सम्प्रेषित समाचारअनुसार जर्मनी र फ्रान्सले ट्रम्पको तीखो आलोचना गरे। ट्रम्पले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई बेइमान र कमजोर व्यक्ति बताए।

जी सातको बैठकपछि उत्तर कोरियाली नेता किम जोङ् उनसँगको शिखर वार्ताका लागि सिंगापुर पुगेका ट्रम्पले फेयर ट्रेडमा पारस्पारिकता हुँदैन भने त्यो फूल ( मूर्खहरूको) ट्रेडमा रुपान्तरण हुने बताए। व्यापारमा अमेरिकालाई ठग्ने मुलुकहरूको सुरक्षाका लागि अमेरिकाले आफ्नो ढुकुटी रित्याइरहेको पनि उनको प्रतिक्रिया आइसकेको थियो।

किम जोङ् उनसँगको शिखर वार्ताको मुखैमा उत्तर कोरियासँगको आणविक हतियार नियन्त्रणसम्बन्धी लेनदेनका कुराहरूमा अमेरिकाको पक्षलाई कमजोर पर्नेगरी क्यानाडाका प्रधानमन्त्रीले अमेरिकासँगको व्यापारिक विवादबारे आक्रामक टिप्पणी गरेर अमेरिकाको पिठ्युँमा छुरा घोपेको धारणा अमेरिकी पक्षले राखेको पनि रोयटर्सका एन्ड्रिया हप्किन्स र डेभिड युनग्रेनले जुन १० मा उल्लेख गरेका थिए।

बेलायत र युरोपियन युनियनका सदस्य राष्ट्रहरू क्यानाडाको पक्षमा उभिएर ट्रुडोको पक्षमा बलियो समर्थन प्रदर्शन गरे। वक्तव्य पनि दिए। अमेरिकाले भन्सार दरमा थप वृद्धि गरेमा त्यसका विरुद्ध युरोपले कडा र एकीकृत प्रहार गर्ने फ्रान्सका अर्थमन्त्री ब्रुनो ला मेयरले बताएको पनि जुलाई ८ मा ले थोमस र पास्कल डेनिसले रोयटर्सको अनलाइन संस्करणमा उल्लेख गरेका छन्।

जुन महिनामा नै अमेरिका, इटाली, बेलायत, क्यानाडा, जर्मनी, जापान र फ्रान्स सम्मिलित विश्वका विकसित राष्ट्रहरूको समूह जी ७ मा रुसलाई पुनः समावेश गर्न ट्रम्पले प्रस्ताव राखेका थिए। स्मरणीय छ २०१४ मा क्रिमिया विलयपछि विश्वका प्रमुख विकसित मुलुकहरूको समूह जी ८ को समूहबाट रुसलाई निष्काशन गरिएपछि जी ८ पुन जी ७ बन्न पुगेको थियो।

यहाँ अर्को कुरा पनि विचारणीय छमे २०१७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामासँगै जस्तो युरोप भ्रमणमा गएका थिए। २५ मे २०१७मा बर्लिनबाट एलिसन स्मेयलले दि न्युयोर्क टाइम्समा उल्लेख गरेअनुसार जबकि जर्मन चान्सलर अंगेला मार्केलले ओबामालाई अत्यन्त हार्दिकताका साथ स्वागत गरिन् तर राष्ट्रपति ट्रम्पप्रतिको मार्केलको व्यवहार भने अत्यन्त रुखो रह्यो।

युरोपकी सबैभन्दा ठूलो अर्थतन्त्रको स्वामी राष्ट्र जर्मनीकी मात्र नभएर युरोपकै सबैभन्दा अनुभवी राजनेतामा गणना हुने जर्मन चान्सलर अंगेला मार्केल अमेरिकाभित्र र बाहिर पनि विवादास्पद व्यक्तित्व बनाएका ट्रम्पबाट पश्चिमी विश्वको नेतृत्व हुन नसकिरहेको मूल्यांकनको आधारमा आफूलाई त्यो भूमिकामा स्थापना गर्न चाहिरहेकोबारे विश्लेषकहरूले टिप्पणी गर्न थालेका छन्। बेलायत र फ्रान्सप्रतिको उनको व्यवहारमा मात्र होइन अमेरिकी राष्ट्रपति ट्रम्पकाप्रति पनि उनी कठोर भूमिकामा प्रस्तुत भइरहेकी उनका टिप्पणीहरू र बडी ल्यांग्वेजबाट बुझ्नदेख्न सकिन्छ। तर ऐतिहासिक र अन्य व्यावहारिक कारणले पनि युरोप जर्मनीलाई त्यो भूमिका दिन सक्ने अवस्थामा छैन।

उता ट्रम्प कसैबाट पनि प्रभावित नहुने, कसैले उनलाई फुस्ल्याउन नसक्ने न उनी कसैको दबाबमा आउने खालका देखिन्छन्। आफ्ना मान्यता र विश्वासमा दृढ र कुनै पनि स्तरको आलोचना र दबाबबाट अप्रभावित ट्रम्पसँगको सहकार्यको रणनीति भनेको अमेरिकाको आन्तरिक राजनीतिक विवादभित्र आफ्ना लागि भूमिका चयन गर्नेभन्दा पनि उनका घोषित नीति र प्रतिवद्धताभित्रैबाट युरोप र अन्य अमेरिकाका मित्रराष्ट्रहरूले आफ्ना अधिकतम् राष्ट्रिय हितको जगेर्नाको रणनीति हो भनेर बुझ्न सकिन्छ।

वर्तमान र भविष्यका सम्भावना

बिल क्लिन्टनदेखि बाराक ओबामासम्म आउँदा अमेरिकाको परम्परागत नीति धेरै हदसम्म असफल भएकोमा सन्देह छैन। तिनै असफलताहरूले नै ट्रम्पको उदय गराएकामा पनि कुनै द्विविधा रहनु आवश्यक भएन। तर ट्रम्पले विदेश, रक्षा र आर्थिक क्षेत्रका असफल अमेरिकी नीतिहरूलाई एकमुष्ट चुनौती दिएकैले उनीमाथि मुलुकभित्र र बाहिरबाट एकमुष्ट प्रहार पनि भइरहेको बुझ्न सकिन्छ। सवाल के पनि हो भने अमेरिका वर्तमान विश्व व्यवस्थाको नेता हो। उसको नेतृत्वप्रति धेरैको असन्तुष्टि र विरोध होला तर अमेरिकी नेतृत्वको अर्को मान्य विकल्प पनि दुनियाँसँग छैन। तर साविकका असफल अमेरिकी नीतिहरूको विकल्पमा कुनै संगत, मान्य र प्रभावकारी नीति प्रस्तुत गर्न र आफ्ना मित्र शक्तिहरूलाई विश्वासमा लिन ट्रम्पले नसकिरहेको यथार्थ पनि हाम्रासामू छ।

युरोप एकजुट हुँदा पनि आफ्नै सैन्य शक्तिको बलमा ऊ आफ्नो रक्षा गर्न समर्थ छैन। तर त्यसरी एकजुट हुँदा आर्थिक, राजनीतिक र सांस्कृतिक आधारमा भने युरोप विश्व व्यवस्थालाई नेतृत्व गर्ने हैसियतमा राख्दछ। उता विश्वका सबैभन्दा अनुभवी र लामो समयदेखिका त्यहाँका सर्वशक्तिमान नेता भ्लादिमिर पुटिनको नेतृत्वअन्तर्गत रुस आफ्नो शक्ति र गौरवको युगमा पुनः प्रवेश गर्दैछ। आर्थिक महाशक्तिको रूपमा तत्काल रूस आउनसक्ने नदेखिए पनि राजनीतिक र सैनिक शक्तिको रूपमा युरोप, मध्यपूर्व, मध्य एसिया र पूर्वी एसियामाथि उसको प्रभाव सानो छैन। युरोप र खास गरेर नाटो र युरोपियन युनियनमा आवद्ध र विगतमा युगोस्लाभिया र सोभियत संघका अंग बनेका पूर्वी युरोपका मुलुकहरू पुटिन र रुसको बढ्दो शक्ति र प्रभावबाट एक किसिमले आतंकित छन्।

आतंकवाद, आम विनासकारी हातहतियारको उत्पादन र विकासमा भइरहेको विस्तार, साइबर क्षेत्रमा बढ्दो आतंक, अराजकता र युद्धको स्थितिसहित रूसको बढ्दो हस्तक्षेपकारी व्यवहारबाट उत्पन्न सुरक्षा चुनौतीहरूलाई सामूहिकरूपमा सामना गर्ने सवालमा नाटो जस्ता बहुपक्षीय संगठनहरू झन् बढी आवश्यक भएको तथ्यबारे गम्भीर विश्लेषकहरू सहमत छन्।

प्रमुख शक्तिराष्ट्रका प्रमुख नेतृत्वहरूबीच हर अवस्थामा नियमित वार्ता र सम्पर्क दुई मुलुकबीचको सम्बन्धलाई व्यवस्थापन गर्न मात्र होइन अन्तर्राष्ट्रिय शान्ति, सहयोग र सद्भावलाई प्रवद्र्धन गर्न पनि अपरिहार्य हुन्छ। गएको जुन २९ को नेसनल इन्ट्रेस्ट पत्रिकामा टम निकोलसले अमेरिका र रुसबीच सम्बन्ध सुधारको पक्ष र विपक्षमा उठेका आवाजको सन्तुलित चर्चा गरेर त्यस्तो खाँचोलाई वाणी दिएका छन्। ३ जुलाई २०१८मा ब्रिटिस दैनिक फिनान्सियल टाइम्समा हेनरी फोयको समाचार विश्लेषण पनि त्यहीअनुरूप छ। तर पनि रूसी राष्ट्रपति पुटिनसँगको ट्रम्पको शिखर वार्तालाई लिएर अमेरिकामा विरोधका र युरोपमा आशंकाका स्वरहरू उठिरहेका छन्।

नोभेम्बर २०१६ मा अमेरिकी राष्ट्रपतिको रूपमा बाराक ओबामाले आफ्नो अन्तिम युरोप भ्रमणको अवसरमा जर्मनीमा पहिलोपल्ट सार्वजनिकरूपमा रुसलाई एउटा विश्व शक्तिको हैसियतमा स्वीकार गरे र रूसको सहयोगविना विश्वका समस्याहरूको समाधान सम्भव नभएको आशय व्यक्त गरे। संसारको दोस्रो ठूलो सैन्य शक्ति राष्ट्रलाई एउटा सामान्य क्षेत्रीय शक्तिको रूपमा चित्रण गरेर राष्ट्रपति ओबामाले आफ्नो कार्यकालभरी रूसको तेजोबध गर्ने प्रयास गरिरहे। उनको पहिलो कार्यकालकी विदेशमन्त्री हिलारी क्लिन्टनले त रुस र भ्लादिमिर पुटिनलाई अपमानित र लान्छित गर्ने कुनै अवसर छोडिनन्।

त्यसैको परिणाम मध्य तथा पूर्वी युरोप, टर्की, सिरिया, इरानका सवालमा अमेरिका र युरोपियन युनियनले एक पछि अर्को असफलता बेहोरिरहे। कार्यकालको अन्त्यमा आएर जर्मनी भ्रमणको अवसरमा रुस सम्बन्धमा ओबामाले जे भने यदि त्यही कुरा उनले आफ्नो कार्यकालको सुरुमै भन्ने हिम्मत गरेका भए रुसअमेरिका सम्बन्ध मात्रै होइन रुसको नाटो र युरोपियन युनियनसँगको सम्बन्धमा समेत धेरै अनुकूलता र हार्दिकता थपिने थियो।

सम्भवतः राष्ट्रपति ट्रम्प अर्को सन्दर्भमा ओबामाकै जस्तो गल्ती दोहोर्‍याउँदैछन्। दोस्रो विश्व युद्धपछि मार्र्सल प्लानद्वारा युरोपको पुनर्निर्माण, युरोपका मुलुकहरूलाई राजनीतिक र आर्थिक रूपमा एक सूत्रमा बाध्न पहिला फ्रान्स र जर्मनी अनि युरोपका छ मुलुकबीचको युरोपियन इकोनोमिक कम्युनिटी हुँदै आजको २८ सदस्य राष्ट्रहरूको युरोपियन युनियन र युरोपको सुरक्षाका लागि उत्तर अट्लान्टिक सन्धि संगठनको स्थापना मूल अमेरिकी रणनीतिक सिद्धान्त र दर्शन हो। नाटो र युरोपियन युनियन युरोप र अमेरिकालाई जोड्ने एक अर्काको समृद्धि र सुरक्षालाई सुनिश्चित गर्ने प्रभावशाली संरचनात्मक प्रबन्धहरू मात्रै होइनन् युरोप र अमेरिकाबीचको सम्बन्धका मुख्य कडी नै हुन्। त्यसैले जुन २०१६ मा भएको जनमत संग्रहबाट बेलायतले युरोपियन युनियनलाई परित्याग गर्ने निर्णय गर्दा युरोपियन युनियनभन्दा अमेरिकाका रणनीतिक चिन्तक र विश्लेषकहरू बढी आहत भएका थिए।

धेरै हदसम्म राजनीतिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक आधारमा अमेरिका भनेको युरोपकै विस्तार हो। त्यसैले अमेरिकी नेतृत्वको नाटोको विकल्पमा युरोपले आफ्नो सुरक्षा र सामरिक दर्शन विकास गरेकै छैन। त्यसैले अमेरिकाको आन्तरिक राजनीतिको चरित्रमा प्रवेश गरेर डोनाल्ड ट्रम्पसँगको सम्बन्धलाई अवमूल्यन गर्ने अदूरदर्शी रणनीतिक शोखबाट उत्पन्न हुने दबाब र चुनौतीलाई धान्न युरोपले नसक्ला नै।

निश्चितरूपमा अमेरिका र युरोपबीचको निकट रक्षा, राजनीतिक र आर्थिक सम्बन्धले युरोपलाई बलियो सुरक्षा छातामुनि असीमित आर्थिक समृद्धि र राजनीतिक प्रभाव प्रदान गर्‍यो। त्यही सम्बन्धले अमेरिकालाई पनि विश्व समुदायमाझ असाधारण गौरव र प्रतिष्ठा उपलब्ध गरायो। अमेरिका र युरोपबीचको त्यो निकटता दुवैको वर्तमान र भविष्यको लागि उत्तिकै अपरिहार्य छ। त्यसैले साझा विश्वास,मूल्य, धर्म, परम्परा र संस्कृतिले अमेरिकालाई युरोपसँग र युरोपलाई अमेरिकासँग जोडेको सघनताको अवस्थाबाट उत्पन्न हुने रणनीतिक सौभाग्यलाई अवमूल्यन गरिरहने अहंकार सुखलाई धानिरहने सामथ्र्य दुवै पक्षले नराख्ने पनि पक्का देखिन्छ।

भट्टराई नेपाल इन्स्टिच्युट फर स्ट्र्याटिजिक स्टडिज (निस) सँग सम्बद्ध छन्।

-केशवप्रसाद भट्टराई