मिथ्याको राजनीति र मृत्युमार्गका प्रजातन्त्र

Publish On: February 6, 2018

नेपालको अभ्यास र अनुभवले पनि भन्छप्रजातन्त्रविरोधी राजनीतिक शक्ति वा समूहहरूबाट हुने जस्तोसुकै क्रुर आक्रमणलाई प्रजातन्त्रले सयपचास वर्षसम्म पनि सामना गर्न सक्छ, तर त्यस्तो आक्रमण स्थापित प्रजातान्त्रिक दलहरू र निर्वाचित सरकारहरूबाट हुन थाल्यो भने प्रजातन्त्र ५० दिन पनि बाँच्न सक्दैन र नष्ट भ्रष्ट हुन पुग्छ। कारण प्रष्ट छप्रणालीबाहिरबाट हुने प्रहारविरुद्ध प्रजातन्त्रले बलियो प्रतिरक्षा क्षमता आर्जन गरेको र सोहीअनुरूपका संरचनाहरू विकास गरेको हुन्छ, तर प्रणालीभित्रकाको प्रहारविरुद्ध प्रजातन्त्र सुरक्षाविहीन र निरीह बन्न पुग्छ। त्यसैले प्रजातन्त्रमाथि प्रचण्ड र बाबुराम वा विप्लवहरूबाट भन्दा गिरिजाप्रसाद, शेरबहादुर, ओली, नेपाल, रामचन्द्र, निधि र वामदेवहरूको प्रहार निर्णायक रूपमा घातक सावित हुने गरेको हो।

अर्थात प्रजातन्त्रले सबै शासन प्रणालीमाथि विजय प्राप्त गरेको छ तर आफैंभित्रका सडन र जलनबाट भने निरन्तर पराजित भइरहेको छ।

त्यस्तै, चीन वा रूसको नभएर भारत, बेलायत, अमेरिका, नर्वे, डेनमार्क वा स्विजरल्यान्ड जस्ता मुलुकहरूको दबाब, प्रभाव, प्रहार, भार र हस्क्षेपबाट नेपालको प्रजातन्त्र यति असुरक्षित, निरीह, कमजोर हुन पुगेको हो। नेपाल जस्ता मुलुकका प्रजातन्त्रहरूको सम्मान र मर्यादाविरुद्धका निरन्तर अभ्यासका चरित्रहरू उनीहरूकै राजनीतिक संस्कृतिको चरित्र बन्न पुग्दा आज लामो प्रजातान्त्रिक अभ्यासको इतिहास भएका ती मुलुकहरूमा पनि प्रजातन्त्र मृत्युमार्गतर्फ बढिरहेकोबारे तिनै मुलुकका राजनीतिज्ञ, प्राज्ञ र विश्लेषकहरू लेखिरहेका र भनिरहेका छन्।

नेपाली प्रजातन्त्रको उपरोक्त अभावहरूकै कारण पर्दा पछाडिका केही पात्र र स्वार्थ समूहको बल पाएर कुनै व्यक्ति वा सानो समूहले पनि मुलुकको नियम, कानुन, संस्था र संरचनाहरू सबैलाई ठाडै धोती लगाइदिने अवस्था बनेको छ। निर्वाचन हारेका दुईचारजनाले बाह्य शक्तिको सहयोग, समर्थन र सुरक्षा पाएर मुलुकमा नाकाबन्दी लगाइदिने, अन्तर्राष्ट्रिय सीमानामा बसेर नेपालपट्टि ढुंगा बर्साउने र राजनीतिका कोर्स र निर्णयप्रक्रियालाई मुलुक र राजनीतिविरुद्ध नै लक्षित गराइदिने सामथ्र्य प्रदर्शन गरेका छन्। अनि तिनै शक्तिहरूलाई सुम्सुम्याउँदैसुम्सुम्याउँदै संसद्मा र एउटा अत्यन्त संवेदनशील प्रदेशमा सर्वेसर्वा हुने हैसियत निर्माण गरिदिन्छन्।

तर केही चारित्रिक भिन्नता रहे पनि नेपाली राजनीतिमा नेपाली कांग्रेस, एमाले, माओवादी सबैले बाह्य शक्तिहरूको त्यस्तो हस्तक्षेपलाई आमन्त्रण, स्वागत र सम्मान गरेका छन्।

सरकारमा जाने दल र पात्रहरू फेरिइरहने तर चरित्र प्रवृत्ति उही रहने नेपाली राजनीतिको नियतिले नेपालको प्रजातन्त्रलाई पत्रु राजनीतिक प्रणालीमा रूपान्तरण गरिसकेको छ। स्थानीय तहदेखि संघीय संसद्का लागि विभिन्न किसिमका उम्मेदवारहरूको चयनदेखि निर्वाचनका अभ्यास र निर्वाचनपछिका राजनीतिक मार्गले नेपालको कथित लोकतन्त्रको धज्जी उडाएको छ।

तर प्रजातन्त्रको यो दुर्भाग्य नेपालमै सीमित छैन। हालै ब्रिटिस साप्ताहिक दी इकोनोमिस्टद्वारा प्रकाशित चार्टअनुसार प्रजातान्त्रिक शासन भएका मुलुकमध्ये ५० प्रतिशत मुलुकहरूको प्रजातन्त्र रोगग्रस्त छ। विभिन्न सूचकहरूका आधारमा इकोनोमिस्टले अस्ट्रेलिया, क्यानाडा र उत्तर युरोपका नर्वे, स्विडेन, फिनल्यान्डजस्ता मुलुकहरूलाई मात्र प्रजातान्त्रिक मुलुककोरूपमा स्वीकार गरेको छ। भारत र अमेरिकाको प्रजातन्त्रलाई पनि उसले अपूर्ण र त्रुटियुक्त प्रजातन्त्रकोरूपमा चित्रण गरेको छ।

नेताहरू र उनका आसेपासेहरूले नेपालको कथित लोकतन्त्र र संविधानको श्रेष्ठताको जति भजन गाए पनि अन्तर्राष्ट्रिय समुदायले नेपालको शासनलाई प्रजातान्त्रिक मान्न छोडेको धेरै भइसकेको छ। यसै क्रममा इकोनोमिस्टले नेपालको शासन प्रणालीलाई हाइब्रिड रेजिम भनेको छत्यो भनेको मुलुकमा कुनै व्यक्ति वा समूहविशेषको स्वेच्छाचारी शासन नै हो जहाँ देखाउनका लागि मात्रै आवधिक निर्वाचन जस्ता प्रजातन्त्रका केही लक्षणहरूलाई समेटिएको हुन्छ। हाइब्रिड शासन भनेको आवरणमा प्रजातन्त्र तर सारमा राजनीतिक सडनमा मौलाएको निश्चित स्वार्थसमूहको स्वेच्छाचारी शासन हो। त्यस्तो स्वेच्छाचारिता दल, संसद् र सरकारले मात्र होइन, सडकले पनि देखाउँछ। नेपाली समाजका केही सम्भ्रान्त पेसाकर्मी र मिडियास्वामीहरूले मुलुकको महवपूर्ण सार्वजनिक हित र सरोकारलाई संरक्षण गर्ने संवैधानिक अंग र राज्यको न्याय र विवेकलाई प्रतिनिधित्व गर्ने न्यायपालिकालाई समेत सडकमा ल्याएर लान्छित र अपमानित गर्नेगरी चलाएको अभ्यास हाइब्रिड शासनको विशिष्ट उदाहरण हो।

मिथ्याको राजनीति र मृत्युमार्गका प्रजातन्त्रहरू

आर्थिक कठिनाइ, भूमण्डलीकरणले लाभ नपुर्‍याएका वर्ग र समुदाय, आप्रवासीहरूको बढ्दो दबाब र प्रजातान्त्रिक दलहरूमा आन्तरिक प्रजातन्त्रको अनुपस्थिति, पार्टीहरूले लिने महत्वपूर्ण निर्णयहरूमा जनता र जनमत बुझ्ने व्यवस्थित विधिका अभाव र मुलुकलाई प्राप्त अवसरहरूमा योग्यता र क्षमताको दुरुत्साहन भइरहँदा संसारभर प्रजातन्त्र प्रतिरक्षात्मक मात्र होइन अलोकप्रिय हुँदै पतनको मार्गतर्फ अग्रसर भइरहेका छन्। प्रजातन्त्र यसरी अलोकप्रिय भइरहँदा सस्तो लोकप्रिय नारा लगाउने कट्टर राष्ट्रवादी शक्तिहरू युरोपका ग्रिस, हंगेरी, इटाली, पोल्यान्ड, स्लोभाकिया र स्विजरल्यान्डको संसद्मा प्रभुत्वपूर्ण हैसियतमा पुगेको र फिनल्यान्ड, नर्वे र लिथुआनियामा संयुक्त सरकारमा छन्। फिलिपिन्समा रोड्रिगो डुटेर्टे र अमेरिकामा डोनाल्ड ट्रम्पको विजयले प्रजातन्त्रको सुखद् भविष्यको संकेत नगरेकोबारे फरेन अफियर्स पत्रिकामा आन्द्रे केन्डालटेलर र इरिका फ्रान्जले हाउ डेमोक्रेसिज फल अपार्ट शीर्षकअन्तर्गत चर्चा गरेका छन्।

हाउ डिमोक्रेसिज डाई नामको स्टेभेन लिभिट्सकी र ड्यानियल जिब्ल्याट लिखित एउटा विचारोत्तेजक पुस्तक हालै प्रकाशित छ। उक्त पुस्तकमा लेखकहरूले के स्वीकार गरेका छन् भने हिजो आज यदाकदा कतै सुनिए पनि सैनिक वा अन्य चरित्रका हिंसात्मक विद्रोह र सत्ता नियन्त्रण मूलतः शीतयुद्धकालीन विश्वका चरित्र हुन्। तर शीतयुद्धपछिका तीनदशकको अवधिमा निर्वाचित व्यक्ति वा स्वतन्त्र तरिकाले निर्वाचित सरकारकै नेतृत्वमा प्रजातान्त्रिक संस्थाहरू कमजोर बनेका प्रजातन्त्रलाई मृत्युवरण गर्न वाध्य बनाइने गरिएको छ।

लिभिट्सकी र जिब्ल्याटअनुसार निर्वाचित सरकार र व्यक्तिहरू प्रजातान्त्रिक विधिबाट आउने भएकाले उनीहरूसँग प्रजातान्त्रिक वैधता त हुन्छ तर गर्न चाहिं माथि भनेजस्तै सरकारमा बसेर उनीहरूले प्रजातान्त्रिक संस्थाहरूलाई क्रमशःनष्ट गर्दै लैजान्छन्। राज्य र सरकारका सबै संरचना, संस्था, नीति र कानुनलाई आफ्ना सत्तास्वार्थको दास बनाइदिन्छन्। आफू र आफ्ना मतियारहरूलाई लाभ पुर्‍याउने उद्देश्यले राज्यस्रोतको चरम दुरुपयोग गरेर बलियासमर्थक समूह निर्माण गरेका हुन्छन् र त्यसैको बलमा निर्वाचनमा सफलता पनि हासिल गर्दै जान्छन्।

यसरी एकातिर राष्ट्र, राज्य र प्रजातन्त्र कमजोर हुने तर सरकारमा रहेका व्यक्तिहरू बलिया हुने अवस्थाले प्रजातन्त्रको मूल आत्माको हत्या भइसकेको हुन्छ। यस्ता शासनले लाभ र अवसर वितरण गर्ने अधिकार प्रयोग गरेर मिडिया, विभिन्न पेसा, वर्ग र व्यवसायलाई प्रतिनिधित्व गर्ने नागरिक समाज, शैक्षिक प्रतिष्ठान, थिंकट्यांक सबैको निष्ठा र कार्यक्षेत्रलाई भ्रष्ट बनाएर उनीहरूको वैधता समाप्त गराइदिने भएकाले समाजमा तिनको प्रभाव शून्यमा र त्यो भन्दा पनि तल झरेको हुन्छ। तर यी र यस्ता अनेकौं दुष्कर्मका बाबजुद सरकारसँग रहेको वैधता र विशेषाधिकारले गर्दा उनीहरूलाई प्रजातान्त्रिक विधिबाट हटाउन भने सकिन्न।

लिभिट्सकी र जिब्ल्याटअनुसार त्यस्ता निर्वाचित तानाशाहहरूले रेडियो र टेलिभिजनहरूलाई नियन्त्रणमा लिन सेनाका अधिकारीहरू होइन पार्टी कार्यकर्ताहरूलाई पठाउँछन्, असत्य समाचारविरुद्ध झन् ठूला असत्य समाचार, लेख, विश्लेषण र टिप्पणीहरूद्वारा राजनीतिक कार्यकर्ता र आमजनताको मनोमष्तिस्कमा झूठ, भ्रम र मिथ्या सूचनाहरू भरिदिन्छन्। उनीहरूले न्यायाधीशहरूलाई गिरफ्तार गर्नु पर्दैन आफ्ना कार्यकर्ताबाट न्यायाधीशका पदहरू भरेर र संविधान र कानुनलाई सत्ता स्वार्थअनुरूप संशोधन गरेर आफ्नो स्थायित्वको मार्ग निर्माण गरेका हुन्छन्। प्रजातान्त्रिक चुनाव जित्छन् तर प्रजातान्त्रिक मूल्यहरूलाई विघटन गरिदिन्छन्। शासनमा पुग्न, बस्न र सत्ता टिकाउन जस्तो कर्म गर्न पनि पछि पर्दैनन्। आफ्नो सत्ताको विरोध गर्नेलाई प्रजातान्त्रिक अधिकार उपयोग गरिरहेका नागरिक वा जनताको रूपमा ग्रहण नगरेर राष्ट्रघाती, अपराधी र जनताको दुष्मनको रूपमा चित्रित गर्दै आफ्ना कार्यकर्ताबाट आक्रमण र तेजोबध गराइदिन्छन्।

कुनै सैनिक विद्रोह भएको हुन्न, सैनिक शासनको घोषणा भएको हुन्न, संविधान खारेज पनि गरिन्न,जनताले मुलुक तानाशाही व्यवस्थामा प्रवेश गरेको थाहा नै नपाई पार्टीभित्र र बाहिरका विरोधीहरूलाई व्यापक दुष्प्रचार अभियानबाट खेद्ने, सबै सुविधा, लाभ र अवसरबाट वन्चित गर्ने, लान्छित र अपमानित गर्ने अनि आफ्ना समर्थकलाई हर अवसर र लाभ सुरक्षित गराएर प्रजातन्त्रको मृत्युलाई आमन्त्रण गरिन्छ भन्ने लिभिट्सकी र जिब्ल्याटको मत छ।

सत्तारुढ वर्गले आफ्नो सत्तास्वार्थको निरन्तरतालाई सुरक्षित राख्न आफ्नै पार्टीका सदस्य र कार्यकर्तालाई पनि नेतृत्वमा आउनबाट रोक्ने, छेक्ने र उनीहरूलाई एक्ल्याउने र मनोवैज्ञानिकरूपमा निरन्तर दबाब र प्रताडनाको सिकार बनाइन्छ।

स्वार्थसमूहले सडकमा लगाउने प्रायोजित नारालाई जनमतको रूपमा ग्रहण गर्ने तर मौन रहेका आम जनतालाई आफ्नो राय व्यक्त गर्न अभिप्रेरित गर्ने विधि र पद्धति विकास नगरिएका कारण आम जनताको बल सरकारले र सरकारको शक्ति जनताले अनुभूत गर्न नपाई प्रजातन्त्रको हत्या भइसकेको हुन्छ।

प्रजातान्त्रिक संस्था र संरचनाहरूलाई भ्रष्ट नबनाइँदा त्यसले आफ्नो सत्तास्वार्थमा लगाउने नियन्त्रणका कारण त्यस्ता शासकहरूले सिंगो समाज र राष्ट्रलाई भ्रष्ट बनाउन भ्याएका हुन्छन्।

माथि उल्लेखित आजको अवस्थालाई ठ्याम्मै प्रतिनिधित्व गर्ने जर्ज अर्वेलको एउटा विचारोत्तेजक लेख आजभन्दा साढे सात दशकअघि अर्थात १९४२ मा प्रकाशित थियो। स्पेनको गृहयुद्ध (१९३६१९३९)को सन्दर्भमा अर्वेलले लेखेका छन्मलाई केले अत्यन्त त्रसित र व्यथित बनाइरहेको छ भने सबै वस्तुगत सत्यहरू संसारबाट विलीन हुँदैछन्। झूठ नै झूठको साम्राज्य खडा भएपछि जसले पनि तिनै झूठ पढ्ने, लेख्ने र झूठको मात्र अभ्यास गर्ने भए। त्यसपछि तिनै झूठहरू इतिहास बन्न पुग्छन्। जो शक्तिमा छ उसैले नियुक्त गरेका व्यक्तिहरूले लेख्ने इतिहास अनि फेरि सत्य र तथ्यसम्बन्धी कुनै अभिलेख नै रहन नसक्ने, नराखिने, सत्यलाई लोप गराएर त्यसका कुनै चिन्ह नै नरहने अवस्था निर्माण भएपछि भविष्यमा लेखिने इतिहास पनि सत्य नै हुन्छ भनेर पत्याउने कुनै आधार नै बाँकी रहन्न।

सरकारले सत्यको स्थानमा झूठलाई प्रतिष्ठित गराइरहने सरकारका विरोधीहरूले पनि झूठकै सहारा लिएर सरकारको विरोध र आफ्नो पक्ष प्रस्तुत गर्ने र दुवै पक्षले उठाउने विषयहरूमा झूठबाहेक केही नरहने अवस्थामा झूठ नै सत्य बन्ने गर्दछ। अनि इतिहासले तिनै झूठलाई सत्य भनेर अभिलेखबद्ध गर्दछ।

निबन्धको अन्त्यमा समावेश छोटो कवितामा अर्वेल भन्छन्

झूठहरूको यति ठूला साम्राज्यहरूमा

कहाँ र कसरी तिमी आफ्नो सत्य बोकेर बाँच्न सक्दछौ र ?

त्यसैले संसारको कुनै शक्तिले पराजित गर्न नसकेको,

कुनै बम र गोला बारूदले स्पर्श पनि गर्न नसकेको तिम्रो विवेक र अन्तरात्मालाई असत्यले छियाछिया पारिदिएको छ र तिम्रो हत्या गरिदिएको छ !

अनि तिम्रो हत्या गर्ने असत्य पनि आफैं अझ ठूलो र गहिरो असत्यको भवसागरमा पुरिएको छ।

मिथ्या र निरुत्तरित प्रजातन्त्र तथा अधिनायकवादको विकल्प

संसारका जति पनि स्थापित प्रजातन्त्र छन् ती विकसित र समृद्ध छन्। आम जनता कहिल्यै युद्धको पक्षमा नहुने भएकोले जनमत निर्णायक हुने कुनै दुई प्रजातान्त्रिक मुलुक परस्पर युद्ध लडेको अनुभव विश्वसँग छैन।

प्रजातन्त्रमा सम्पत्ति र समृद्धिको सबैभन्दा शक्तिशाली एकाइ व्यक्ति र उसको सिर्जनशीलता हुन्छ। प्रजातन्त्रले दिने निर्वाध स्वतन्त्रतालाई मानिसले आफ्ना लागि अवसर खोजी गर्ने, अवसर प्राप्त गर्ने र त्यसलाई सुरक्षित र स्थिर राखेर गरिबी, अभाव र वन्चनाविरुद्ध लड्ने अत्यन्त प्रभावकारी साधनको रूपमा प्रयोग गर्ने भएकोले प्रजातान्त्रिक मुलुकहरू राजनीतिक रूपमा स्थिर, आर्थिक रूपमा समृद्ध र सामाजिक रूपमा सहयोगी र सहनशील हुन्छन्। समान सामरिक स्वार्थ र रणनीतिक लक्षका कारण साझा प्रतिरक्षा क्षमता र संगठन निर्माण र विकास गरेर उनीहरूले आफ्ना विरुद्धका युद्ध र आक्रमणलाई झन्डै असम्भव बनाएका हुन्छन्। भ्रष्टाचार, हिंसात्मक विद्रोह, आतंक, गरिबी, भूमण्डलीकरणका अभाव र दबाबविरुद्ध स्वस्थ्य र प्रभावकारी प्रजातन्त्रको विकल्प देखिएको छैन।

विभिन्न उदार प्रजातान्त्रिक संरचनामा बसेर जनता शासनसम्बन्धी सबै निर्णयमा प्रत्यक्ष र परोक्ष संलग्न हुने भएकाले एक अर्कालाई बुझ्ने, विमतिहरूलाई ससम्मान ग्रहण गर्ने र विमतिहरू बीच सहमतिका प्रयास पनि तिनै संरचनामा बसेर जनताले नै खोज्ने भएकोले प्रजातन्त्र अविवेक, असहिष्णुताविरुद्धको सबैभन्दा प्रभावकारी अस्त्र पनि हो।

त्यसकारण प्रजातन्त्र शान्ति, समृद्धि हो, सामाजिक विश्वासको आधार हो। युद्ध र महाविनासबाट समाज, राष्ट्र र विश्वको रक्षा प्रजातन्त्रले मात्रै गर्न सक्छ। उच्च प्रजातान्त्रिक अभ्यासले मात्रै असत्यलाई सामना गर्ने इमान्दार नागरिक चेतना र राज्य र समाजमा विश्वास र सद्भाव निर्माण गर्छ।

तर प्रजातन्त्रले सातवटा मूल प्रश्नको उत्तर मागिरहेको हुन्छ, जस्तै, सरकारले कानुनको शासनको सीमालाई ससम्मान ग्रहण गर्दछ र गर्दैन ?

शैक्षिक संस्थाहरू, थिंकट्यांक, विभिन्न पेसा, वर्ग र व्यवसाय तथा सामाजिक, आर्थिक, सांस्कृतिक उद्देश्यले स्थापित नागरिक समाजहरू सरकार र राजनीतिक दलहरूबाट स्वतन्त्र छन् र छैनन् ?

स्वतन्त्र, स्वच्छ र कानुनअनुसार निर्धारित आचारसंहिता र सम्पूर्णरूपमा प्रजातान्त्रिक मूल्य र मर्मअनुरूप आमनिर्वाचन हुन सक्ने अवस्था छ, छैन ?

सबै किसिमका सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक वा क्षेत्रीय तथा साम्प्रदायिक सीमा र दबाबबाट मुक्त रहेर कुनै पनि निर्वाचन क्षेत्रमा आफूले रोजेको उम्मेदवारलाई मत दिने र उक्त निर्वाचन क्षेत्रमा उम्मेदवार हुने अधिकार सबैलाई सहज रूपमा उपलब्ध छ, छैन ?

सरकार आम जनताप्रति प्रत्यक्षरूपमा र जनताबाट प्रत्यक्षरूपमा निर्वाचित प्रतिनिधिमार्फत परोक्षरूपमा इमान्दारीका साथ उत्तरदायी सावित हुने गरेको छ र छैन ?

जनताद्वारा प्रत्यक्षरूपमा निर्वाचित प्रतिनिधिहरूमाथि यो वा त्यो रूपमा मनोनीत अधिकारीहरूको नियन्त्रण रहने गरेको छ र छैन ?

राजनीतिक वैधताको स्रोत व्यक्ति वा स्वार्थसमूह हुने गरेको छ वा संविधान र कानुन ? यस्ता प्रश्नहरूको सकारात्मक उत्तर नदिने प्रजातन्त्र नै मिथ्या प्रजातन्त्र हो। त्यस्तो प्रजातन्त्रविरुद्ध प्रणालीभित्रैबाट जनतामा आशा र विश्वास जगाउने र जनताको ऊर्जा, उत्साह र विश्वासको नेतृत्व गर्ने र प्रजातन्त्रमाथि जनताको स्वामित्व स्थापना गरिदिने कोही स्वच्छ र इमान्दार व्यक्ति निस्किएन भने मिथ्या प्रजातन्त्र र त्यसका नायकहरूलाई दण्डित गर्न स्वाभाविकरूपमा मुलुक कुनै पाक चुङ्ही, ली कुवान यु र पाउलकाग्मे जस्ता इमान्दार अधिनायकहरूको खोजी गर्न पुग्छ। तर त्यो खोजीमा मुलुक र जनता सफल/असफल के हुन्छन् त्यो भने भन्न सकिन्न।

भट्टराई नेपाल इन्स्टिच्युट फर स्ट्र्याटिजिक स्टडिज (निस) सँग सम्बद्ध छन्।

-केशवप्रसाद भट्टराई