चीनका रणनीतिक साधन हुन् त ट्रम्प ?

Publish On: January 9, 2018

मेकिङ अमेरिका ग्रेट अगेन लाई आफ्नो मुख्य चुनावी नारा बनाएर विजयी भएका राष्ट्रपति डोनाल्ड ट्रम्पको कटु आलोचना गर्दै अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुसन राइसको गएको नोभेम्बरमा न्युयोर्क टाइम्समा प्रकाशित लेखको शीर्षक थियो ट्रम्प इज मेकिङ चाइना ग्रेट अगेन। चीन भ्रमणको अवसरमा ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई विशिष्ट व्यक्ति उल्लेख गर्दै राष्ट्रपति सीप्रतिको आफ्नो भावना निकै न्यानो बताएकोमा राइसको आपत्ति थियो। चीनसँगको व्यापार घाटाका लागि चीनलाई दोष नदिएर आफ्ना पूर्वाधिकारीलाई जिम्मेवार बनाएकोमा पनि राइस ट्रम्पप्रति कठोर देखिन्थिन्। दक्षिण चीन सागर क्षेत्रमा प्रभुत्व कायम गर्दै आएको चीनका अधिनायकवादी शासकको प्रशंसाले क्षेत्रका मुलुकहरूमा चिन्ता र सरोकार फैलाएको उनको टिप्पणी थियो।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी हुनेबित्तिकै चिनियाँ सेनाका सेवानिवृत्त मेजर जनरल तथा चीनका प्रतिरक्षा सल्लाहकार जिन यिनानले हङकङमा बोल्दै भनेका थिए नयाँ अमेरिकी राष्ट्रपतिको कार्यकालमा तत्कालका लागि चीनअमेरिका सम्बन्धमा केही अनिश्चितता आए पनि मध्यकालीन र दीर्घकालीन रूपमा दुई मुलुकबीचको सम्बन्धमा हार्दिकता र मित्रता बढ्दै जानेछ। डेमोक्रेट प्रशासनभन्दा रिपब्लिकन प्रशासन अन्तर्राष्ट्रिय मामिलामा कम हस्तक्षेपकारी हुने गरेको उनको निष्कर्ष थियो। ट्रम्प स्पष्ट वक्ता छन् र उनको कार्यकालमा चीनअमेरिका सैन्यसम्बन्धमा अझै विस्तार हुने उनले बताएका थिए। हिलारी क्लिन्टन विजयी भएकी भए एसियन पिभट र ट्रान्सप्यासिफिक पार्टनरसीप (टीपीपी) जस्ता संरचनामार्फत चीनलाई एक्ल्याउने र घेर्ने अमेरिकी रणनीतिले सार्थकता पाउने उनको भनाइ ट्रम्प बेटर द्यान क्लिन्टन फर चाइना इन लङ टर्म शीर्षकअन्तर्गत साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित थियो।

हालै न्युयोर्क टाइम्समा डेभिड लियोनहार्टको हाउ ट्रम्प इज हेल्पिङ चाइना शीर्षकको लेख प्रकाशित छजसमा उनले राष्ट्रपतिको पदमा डोनाल्ड ट्रम्पको पद ग्रहणकै दिन पारेर जिन यिनानले कम्युनिस्ट पार्टीका उच्चाधिकारीलाई सम्बोधन गर्दै, हामी बारम्बार ट्रम्पले चीनलाई हानी पुयाउने छन् भन्ने कुरा गरिरहेका छौं, तर वास्तवमा उनले चीनलाई महान उपहार दिँदैछन्त्यो भनेको अमेरिका टीपीपीबाट बाहिरिनु हो। यिनानले त्यसो भनेको तेस्रो दिनमा राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो निर्णयका रूपमा टीपीपीबाट आफ्नो मुलुकलाई अलग्याएको घोषणा गरे।

अमेरिका फस्ट र मेकिङ अमेरिका ग्रेट अगेनलाई आफ्नो मूल प्रतिबद्धता बताउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रसंग अघि सार्दै दी न्यु योर्करको नवीनतम अंकमा इभान ओस्नोस लेख्दछन्वस्तुतः ट्रम्प अमेरिका फस्ट र मेकिङ अमेरिका ग्रेट अगेन भन्दा चीनको महानतालाई नै पुनस्र्थापना गरिरहेका छन्। अमेरिका आफ्ना विश्वव्यापी जिम्मेवारी र प्रतिबद्धताबाट पछि हट्दै जाँदा चीन आफ्ना त्यस्ता प्रतिवद्धतामा इमान्दार देखिँदै निरन्तर आफ्नो प्रभाव र प्रभुत्वमा विस्तार गरिरहेको विविध सन्दर्भलाई प्रस्तुत गरिएको ओस्नोसको उक्त लेखको शीर्षक छमेकिङ चाइना ग्रेट अगेन।

अमेरिकीहरूले अवलम्बन गरेको आर्थिक र सांस्कृतिक मूल्यप्रणाली अनुशरण गर्ने चीनको वर्तमान नेतृत्वसँग ट्रम्पको सम्बन्ध सुधारका प्रयासलाई चीनको रणनीतिक साधन बनेको आरोप लगाउनुलाई तथ्य र विवेक दुवैले अनुमोदन गर्दैन।

उदाहरणका लागि दुई सन्दर्भ यस्ता छन्विश्व व्यापार संगठनको बैठकमा अमेरिकी प्रतिनिधि आफ्नो विमतिसहित बैठक कक्षबाट बाहिरिएपछि चिनियाँ प्रतिनिधिले लगत्तै बैठकमा प्रभावकारी ढंगमा आफूलाई प्रस्तुत गरेर उक्त संगठनका मूल्य र मान्यताको पक्षमा आफ्नो मुलुक दृढ रहेको बताए।

त्यसैगरी अमेरिका टीपीपीबाट बाहिरिनु भन्दा केही दिनअघि मात्रै वल्र्ड इकोनोमिक फोरमको बैठकमा चीनको तर्फबाट पहिलोपटक सहभागी भएका चिनियाँ राष्ट्रपति सी जिनपिङले वातावरणसम्बन्धी पेरिस सम्मेलनको पक्षमा चीनको दह्रो प्रतिवद्धता व्यक्त गरे र अमेरिकातर्फ व्यंग्यात्मक संकेत गर्दै भनेका थिएआजको युगमा संरक्षणवादको पक्षपोषण भनेको एउटा अँध्यारो कोठामा आफूलाई बन्दी बनाउनु हो।

ट्रम्पका अभाव त छन् तर त्यो भन्दा बढी उनीप्रति कुन्ठा र आग्रह पनि छन्

मूलधारको अमेरिकी राजनीति, प्रेस र बौद्धिक समुदायको अपेक्षा र पूर्वानुमानविपरीत डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भए। उनले आफ्नो विजयमार्फत संसारभर पढिने, सुनिने, पत्याइने समाचारमाध्यम र विश्व समुदायकै वैचारिक गुठीको रूपमा प्रतिष्ठित थिंक ट्यांकका विज्ञहरू सबैलाई झूटो सावित गराइदिए। त्यो उनीहरूको अहंमाथिको सबैभन्दा ठूलो प्रहार थियो। अमेरिकालगायत विश्वका अधिकांश मुलुकमा राजनीतिक, रणनीतिक, कूटनीतिक र वैदेशिक मामिलामा परामर्शदाता समेतको हैसियतमा रहेर कुनै जिम्मेवारीबिनै असीमित सत्ता र सम्पत्ति उपभोग गरिरहेका अमेरिकीहरू एक किसिमले ट्रम्पद्वारा सत्ताच्यूत भए। त्यो कुण्ठा र आक्रोश थामिनुको साटो झन् जटिल र कठोर स्वरूपमा अभिव्यक्त भइरहेका छन्। ट्रम्पका केही भूमिकाको योगदान त होला, त्यो भन्दा बढी अझ त्यस्ता अमेरिकीहरूको अभिव्यक्ति र आक्रोशले अमेरिकाको अन्य प्रमुख शक्ति राष्ट्रहरूसँगको सम्बन्धमा र स्वयं अमेरिकाको विश्वव्यापी छविमा आधात पुगिरहेको छ।

मुख्य कुरा, ट्रम्पलाई डेमोक्रेट वा रिपब्लिकन दुवै दलले आफ्ना मानेनन् , विजातीय र विधर्मी जस्तै मानिरहेका छन्। ट्रम्प रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार त भए, तर स्वतन्त्रको हैसियतमा लडे, चुनाव जिते र अहिले पनि स्वतन्त्र जस्तै हैसियतमा काम गरिरहेका छन्।

कुनै बलियो राजनीतिक घरानालाई प्रतिनिधित्व नगर्ने, वर्षौंसम्म सिनेटर, गभर्नर, उपराष्ट्रपति, मन्त्री आदिको भूमिकामा रहेर राजनीतिक व्यक्तिहरू, स्वार्थसमूह, मिडिया, बौद्धिक क्षेत्र र अन्य प्रमुख मुलुकहरूमा समेत समर्थक समूह निर्माण गरेर राष्ट्रपतिको निर्वाचन लड्ने अभ्यास रहेको मुलुकमा कुनै राजनीतिक अनुभव वा संगठित समर्थक समूहबिना एक्लै, एउटा सम्पन्न तर आम अमेरिकीको हैसियतमा चुनाव जितेर राष्ट्रपति हुनु असम्भव जस्तै थियो।

ठीकबेठीक आफ्ना ठाउँमा होलान्, तर आम जनताका मनमा गढेर रहेका कुरालाई आफ्नो चुनावी प्रतिवद्धता बनाएर सत्ता केन्द्रहरूमा बिल्कुलै अपरिचित व्यक्ति राष्ट्रपति भएर आउनु दुवै दलका नेतृत्व पंक्तिका लागि ठूलो चुनौती थियो। ट्रम्प जसैगरी भविष्यमा अन्य व्यक्तिहरू आउने बाटो खुलेकोले दुवै दलका स्थापित नेताहरू असुरक्षाको भावनाले ग्रसित देखिन्छन्। ट्रम्प विरोधका पछाडि त्यो भावनाले पनि घर गरिरहेको छ।

ओबामा प्रशासनका केही निर्णयहरू धमाधम उल्ट्याउँदा ती निर्णयको देशविदेशका पक्षधर र स्वार्थ समूहहरू पनि स्वाभाविक रूपमा ट्रम्पविरुद्ध कठोर बनेका छन्। उदाहरणका लागि ओबामा सरकारको कार्यकालको अन्तिम वर्षमा प्रशान्त महासागरमा सीमा जोरिएका अमेरिका, जापान, मलेसिया, भियतनाम, सिंगापुर, ब्रुनार्ई, अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानाडा, मेक्सिको, चिली र पेरू गरी १२ मुलुकले टीपीपीबाट परिचित व्यापारिक सम्झौतामा हस्ताक्षर गरेका थिए। युरोपीय समुदाय जस्तै ती मुलुकहरूलाई एउटै बजार प्रणालीमा आवद्ध गर्ने उक्त सम्झौतालाई आफ्नो मुलुकको हितमा नभएको ठहर गरी निर्वाचन अभियानको क्रममा प्रतिज्ञा गरेअनुसार नै राष्ट्रपति ट्रम्पले त्यसलाई खारेज गरेका थिए। संसारको ४० प्रतिशत उत्पादक क्षेत्रलाई समेटेको सो व्यापारिक सम्झौताले विश्वको सबैभन्दा ठूलो क्षेत्रलाई प्रतिनिधित्व गर्ने र त्यसले विशिष्ट रणनीतिक भूमिका खेल्ने पनि अपेक्षा थियो।

प्यासिफिक पावर को रूपमा अमेरिकाले एसियाको नेतृत्व गर्ने र क्षेत्रमा चीनको बढ्दो वर्चस्वलाई नियन्त्रण गर्ने एसियन पिभट रणनीतिको एउटा अंगका रूपमा टीपीपी थियो। ट्रम्पको शपथग्रहणको ठीक दुई महिनाअघि न्युयोर्क टाइम्सले अ रिट्रिट फ्रम टीपीपी वुड इम्पावर चाइना शीर्षकमा आफ्नो सम्पादकीय लेखेको थियो। टीपीपी खारेज भएमा त्यसले एसिया प्रशान्त क्षेत्रमा अमेरिकी प्रतिष्ठामाथि ठूलो क्षति पुग्ने र चीनलाई अन्तर्राष्ट्रिय व्यापारको क्षेत्रमा जिम्मेदार साझेदार बनाउने अमेरिकी नीतिसमेत असफल हुने उक्त सम्पादकीयको मत थियो।

क्षेत्रमा चीनको बढ्दो प्रभुत्वलाई नियन्त्रण गर्ने र अमेरिकी हितलाई विस्तार गर्ने टीपीपी आर्थिक र व्यापारिक स्वरूपमा जन्मिएको एउटा महवपूर्ण भूराजनीतिक अस्त्र थियो जसलाई ट्रम्पले निशस्त्र बनाइदिए।

ट्रान्सप्यासिफिक पार्टनरसीपको सफलताको अर्थ अमेरिका र सो सन्धिमा आवद्ध अन्य मुलुकहरूलाई व्यापक कर छुटको सुविधा हुन्थ्यो र परिणाममा ती मुलुकहरू र चीनबीचको व्यापारमा पर्याप्त ह्रास आउने स्थिति बन्दथ्यो। त्यसबाट हुने क्षतिको पूर्तिका लागि चीनले पनि आसियानका १० सदस्य राष्ट्रलगायत चीन, जापान, दक्षिण कोरिया, भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड गरेर १६ सदस्यीय राष्ट्रहरूको व्यापारिक संघको प्रस्ताव अघि बढाएको थियो। तीन अर्ब ४० करोड जनसंख्यालाई प्रतिनिधित्व गर्ने विश्वका शक्तिशाली र उदीयमान अर्थतन्त्रहरूलाई जोड्ने रिजनल कम्प्रिहेन्सिभ इकोनोमिक पार्टनरसीप (आरसीईपी) को आकर्षण त्यसमा आवद्ध कुनै मुलुकलाई कम छैन। गएको सेप्टेम्बरमा मात्रै फिलिपिन्समा सम्पन्न उक्त फोरममा आवद्ध मुलुकहरूको मन्त्रीस्तरीय बैठकले आपसी व्यापारिक सम्झौताको पक्षमा आफ्नो प्रतिवद्धता व्यक्त गर्दै त्यसलाई निकट भविष्यमा सन्धिमा रुपान्तरण गर्ने बताएको छ। टीपीपीको असामयिक निधन भयो तर आरसीईपी सम्भावनासहित अघि बढिरहेको छ। यसले अमेरिकीहरूको एउटा समूहलाई क्रुद्ध बनाउने नै भयो।

चीन लक्षित अमेरिकी रणनीति, एसिया र युरोप असर

बाराक ओबामाले आफ्नो कार्यकालको पहिलो वर्षको अन्त्यमा जापान भ्रमणको अवसरमा आफूलाई प्रथम प्यासिफिक राष्ट्रपति बताए। यसको पछाडि उनले गम्भीर रणनीतिक लक्ष राखेका थिए।

अक्टोबर २०११ मा फरेन पलिसी पत्रिकामा विदेशमन्त्री हिलारी क्लिन्टनको अमेरिकाज प्यासिफिक सेन्चुरी शीर्षकमा पाँच हजार भन्दा बढी शब्दको लेख प्रकाशित भयो। नोभेम्बर २०११ मा फिनान्सियल टाइम्समा राष्ट्रपति ओबामाका राष्ट्रिय सुरक्षा सल्लाहकार टम डनिलनको अमेरिका इज ब्याक इन दी प्यासिफिक एन्ड विल अप होल्ड दी रुल्स भन्ने लेख प्रकाशित भयो। १७ नोभेम्बर २०११ मा अस्ट्रेलियाली संसद्लाई सम्बोधन गर्दै राष्ट्रपति ओबामाले आफ्ना विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारकै विचारको सेरोफेरोमा आफ्ना मन्तव्य राखे।

त्यसको केहीपछि नै अप्रिल २०१२ मा चीन र जापानबीच सेन्काकु दियाओ विवाद आरम्भ भयो र दुवै मुलुकले सो क्षेत्रमा हवाई र जलसुरक्षा गतिविधि बढाए। २०१२ को सुरुदेखि नै चीन र फिलिपिन्सबीच र सोही वर्षको अन्त्यदेखि चीन र भियतनामबीच दक्षिण चीन सागरको जलक्षेत्रसम्बन्धी विवाद उर्लिएर आयो।

जोन फोर्डले दी डिप्लोम्याटको दी पिभट टु एसिया वज ओबामाज बिगेस्ट मिस्टेक लेखमा उल्लेख गरेअनुसार ओबामाको सोही रणनीतिका कारण क्षेत्रमा चीन आक्रामक बन्दै गयो। उनका पूर्वाधिकारी जर्ज बुसले पनि एसिया प्रशान्त क्षेत्रलाई उच्च प्राथमिकतामा नै राखेका थिए तर बुसले त्यसमा सन्तुलनको स्थिति कायम गरेका थिए जसलाई ओबामाले भत्काइदिए।

राष्ट्रपति ओबामा र उनका प्रमुख सहयोगीहरूका ती प्रस्तुतिहरूलाई चीनले आफूलाई घेराबन्दी गर्ने अमेरिकी रणनीतिको रूपमा बुझ्यो। क्षेत्रका मुलुकहरूले पनि उक्त नीतिलाई त्यसरी नै बुझे।

ओबामाको एसियन पिभट को सैन्यपक्ष पनि थियो। त्यसअन्तर्गत एटलान्टिक क्षेत्रमा तैनाथ सेना तथा सैन्य संरचनामा १० प्रतिशत कटौती गरी त्यसलाई प्रशान्त क्षेत्रमा तैनाथ गरिने निर्णय भयो। चीनले त्यसलाई स्वाभाविकरूपमा आफूविरुद्ध बुझ्यो र आफ्नो सैन्य क्षेत्रको लगानीमा असाधारण वृद्धि गर्‍यो।

अमेरिका र युरोप साझा राजनीतिक, आर्थिक, धार्मिक र सांस्कृतिक मूल्यप्रणालीले बाँधिएका छन्। तर ओबामाले अमेरिकाको रणनीतिक नक्सामा युरोप र युरोपको अत्यधिक संवेदनशीलताको क्षेत्र रहेको मध्यपूर्वलाई प्राथमिकतामा नराखेर एसियाप्रशान्तलाई प्राथमिकतामा राखेपछि त्यसले युरोपियनहरूको राष्ट्रिय र क्षेत्रीय अहंमा चोट पुयाएको थियो। फोर्डअनुसार ओबामाको त्यही गलत रणनीतिक प्रथामिकताले युक्रेन र सिरिया संकट, इस्लामिक स्टेटको जन्म र विस्तारलाई बाटो दियो। पोल्यान्ड, हंगेरी र टर्कीमा अधिनायकवादको उदय र युरोपमा झाँगिएको उग्र दक्षिणपन्थी भार त्यसैको परिणाम बन्न पुग्यो। एसियाका उदीयमान अर्थतन्त्रहरू र एक्काइसौं शताब्दीको राजनीतिक, आर्थिक र सैन्यशक्तिको केन्द्र बन्दै गएका एसियाली मुलुकहरूसँग भावनात्मक सम्बन्ध गाँसेर उक्त क्षेत्रमा आफ्ना रणनीतिक प्राथमिकता केन्द्रित गर्ने क्रममा अमेरिकाले आफूलाई उपेक्षा गरेको युरोपको गुनासो थियो।

बाराक ओबामा र हिलारी क्लिन्टनलगायतका कतिपय पश्चिमी मुलुकहरूको विरोध र हरसम्भव प्रयत्नका बाबजुद भ्लादिमिर पुटिन पुनः राष्ट्रपतिमा भए। रूसमा भएको पुटिनविरोधी प्रदर्शनलाई त विदेशमन्त्रीको रूपमा हिलारी क्लिन्टनको खुला समर्थन थियो। त्यस अवस्थामा पुटिनको विजयलाई अमेरिकाको दुवै दलको सस्थापना पक्षले आफ्नो पराजयको रूपमा लियो। गएको अमेरिकी निर्वाचनमा हिलारीको पराजयको पछाडि उनै पुटिनको संलग्नताको विश्वासले आक्रोशित अमेरिकी राजनीति ट्रम्प विरोधमा रुपान्तरित भयो। राष्ट्रपति ट्रम्पका केही महत्वपूर्ण व्यक्तिगत र नीतिगत अभावहरू देखिएकै छन्।

विश्वका एक सय ९५ मुलुकको साझा राजनीतिक प्रतिवद्धतापछि डिसेम्बर २०१५ मा पेरिसमा सम्पन्न वातावरण संरक्षणसम्बन्धी सम्झौतालाई अस्वीकार गरेर उनले अमेरिकालाई बाँकी विश्वको सरोकारबाट अलग्याएका छन्। भूमण्डलीकरण स्वयं अमेरिकाको दोस्रो परिचय बनेको छ। दोस्रो विश्वयुद्धलगत्तै अमेरिकी नेतृत्वको उदार आर्थिक नीतिकै परिणाम भूमण्डलीकरण हो। तर बजार अर्थतन्त्रकै मूल सिद्धान्तमा आधारित भएर अमेरिकी प्रेरणामा स्थापित आर्थिक सहयोग र विकास संगठन (ओईसीडी)को मेकिङ ग्लोबलाइजेसन वर्क को मूल विषयमा जुन २०१७ मा पेरिसमा सम्पन्न सम्मेलनमा पारित विज्ञप्ति अमेरिकी मूल नीतिविपरीत थिएन, तर अमेरिकी प्रतिनिधिले त्यसमा हस्ताक्षर गर्न अस्वीकार गरे। यस्ता क्रियाकलापहरूले युरोप र एसियामा अमेरिकालाई एक्ल्याउँदै गएको छ र त्यसले अमेरिकाका कतिपय परम्परागत मित्रहरूलाई चीन र रूसतर्फ आकर्षित गरेको छ।

यिनै परिस्थितिलाई मध्यनजर गरेर प्रमुख जर्मन प्रसारण संस्था डच विलेले (डिडब्ल्यू) ले दी बल्र्ड निड्स मोर युरोप एन्ड लेस डोनाल्ड ट्रम्प भन्न पुगेको छ र परम्परागतरूपमा अमेरिकाको सबैभन्दा प्रवल समर्थक युरोपका राष्ट्रहरू अमेरिकाबिनै बाँच्ने रणनीतिको खोजीमा छन्।

सोही सन्दर्भमा जर्मनीका कार्यवाहक विदेशमन्त्री सिग्मर ग्याब्रियलले विश्वमा अमेरिका जुनजुन भूमिकाबाट अलग हुँदै जान्छ त्यो त्यो भूमिकामा युरोप प्रवेश गर्नुपर्ने धारणा राखेका छन्। सिरिया र इरान मामिलामा अमेरिकी भूमिकाका अभावमा त्यहाँ जसरी रूस र चीन प्रवेश गरे त्यसरी नै युरोप पस्नुपर्ने उनको मत छ।

अन्त्यमा, राइसलगायतका अमेरिकी राजनीति र कूटनीतिक क्षेत्रका हस्तीले सी जिनपिङको अधिनायकवादी शासनलाई महव दिएको आरोप ट्रम्पमाथि लगाएका छन्। तर त्यसोभन्दा के बुझेको देखिएन भने सी जिनपिङले भन्दा सयौं गुणा निरंकुश शासन चलाएका माओ युगको चीनसँगको सम्बन्ध सुधारलाई अमेरिकाको अति विशिष्ट कूटनीतिक र रणनीतिक उपलब्धिको रूपमा प्रस्तुत गर्ने अमेरिकीहरूले आफैंले अवलम्बन गरेको आर्थिक र सांस्कृतिक मूल्यप्रणाली अनुशरण गर्ने चीनको वर्तमान नेतृत्वसँग ट्रम्पको सम्बन्ध सुधारका प्रयासलाई चीनको रणनीतिक साधन बनेको आरोप लगाउनुलाई तथ्य र विवेक दुवैले अनुमोदन गर्दैन।

भट्टराई नेपाल इन्स्टिच्युट फर स्ट्र्याटिजिक स्टडिज (निस) सँग सम्बद्ध छन्।

-केशवप्रसाद भट्टराई