सुखी, समृद्ध र सफल मुलुकका केही अभ्यास र अनुभव

Publish On: January 1, 2019

१. भूपरिवेष्ठित अफ्रिकी राष्ट्र बोत्स्वाना र नेपाल

शासनमा बस्नेहरूले कायमगरेको स्वच्छता, निष्ठा, उदारता र इच्छाशक्तिबाट प्राप्त सफलताका थुप्रै थुप्रै उदाहरण विश्वसँग छ ।
एउटा उदाहरण स्वर्गीय सेरेत्से खमा हुन् ।

उनी बोत्स्वानाका राष्ट्रपति हुँदा अधिकारीहरुले राष्ट्रपति भवन जाने साँघुरो गल्लीलाई मर्मत र बिस्तारगर्ने प्रस्ताव राखे । फिनान्सियल टाइम्सको अन्तर्राष्ट्रिय अर्थतन्त्र विभागका सम्पादक र बैंक अफ इंगल्याण्डका पूर्व अर्थशास्त्री अलान बेट्टीको एउटा बहुचर्चित पुस्तकमा उल्लेख भए अनुसारखमाले प्रस्तावलाई ठाडै अस्वीकार गर्दै भने, सडकहरु राष्ट्रिय प्राथमिकता अनुरुप बनाइनु पर्दछनेताको सुविधाको लागि होइन ।

स्मरण रहोस्, १९६६ मा जब बोत्स्वाना ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भयो, भूपरिवेष्ठित बोत्स्वानाको प्रतिव्यक्ति आय ७० डलरको आसपास थियो । आज त्यो साढे आठ हजार छ ।

जतिखेर बोत्स्वानाको प्रतिव्यक्ति आय ७० डलर थियो नेपालको ८१ डलर थियो र आज त्यहाँको त्यस्तो आय साढे आठ हजार डलर हुँदा नेपालीहरूको करिब नौ सय डलर मात्रै छ ।

त्यतिखेर बोत्स्वानामा जम्मा ६.७ किलोमिटर पक्की सडक थियो, तर नेपालमा तीन सय किलोमिटर भन्दा बढी पक्की सडक थियो ।
४२ किलोमिटर लामो रोप वे, ५३ किलोमिटर लामो जयनगरजनकपुरविजलपुरा र ३९ किलोमिटर लामो रक्सोलअमलेखगन्ज रेलमार्ग समेत थियो ।

बोत्स्वानामा जम्मा २२ जना विश्वविद्यालय स्नातक हुँदा र मुस्किलले १०० जनाले १० कक्षासम्मको शिक्षा हाँसिल गरेकाबेला नेपालमा विश्वविद्यालय स्नातक मात्रै सात हजार भन्दा बढी थिए । त्यतिखेर नेपालको अर्थतन्त्र भारत र चीनको भन्दा राम्रो अवस्थामा भएको मात्र होइन, दक्षिण कोरिया र सिङ्गापुर जस्ता आजका एसियाका सम्वृद्ध अर्थतन्त्रहरूसँग तुलनागर्न सकिने अवस्थामा थियो

बोत्स्वानाले आन्तरिक विवादलाई उठ्न दिएन ।

मुलुकमा उपलब्ध प्राकृतिक साधनको विकास र उपयोगको सफल र रचनात्मक नीति अवलम्वन गर्यो । अर्थतन्त्रलाई एक दिन पनि अवरुद्ध हुन र राजनीतिवाट प्रदुषित हुन दिएन । परिणामस्वरूप स्वतन्त्रता पछिका ३० वर्षसम्म बोत्स्वानाको आर्थिक वृद्धिको दर अमेरिका, जापान, दक्षिण कोरिया सिंगापुर, हंगकंगको भन्दा बढी थियो भनेर बेट्टीले लेखेका छन् ।

तर बोत्स्वाना भन्दा पाँच वर्ष अघि स्वतन्त्र भएको, समुद्रसम्म खुला पहुँच भएको, उत्तम स्तरको हिरा र सुनको विराट भण्डार भएको सियरा लियोनले शासकहरूको भ्रष्ट स्वार्थको रक्षाका लागि त्यस्तो खनिज भण्डारको विकास र उपयोगको कुनै स्वस्थ्य र स्वच्छ नीति अवलम्वन गरेन ।
त्यसैले त्यहाँ हिरा र सुन खानीमाथिको स्वामित्वका लागि गृहयुद्ध भइरह्यो, अनि युद्धले युद्धरत विभिन्न पक्षलाई अपार धन उपलव्ध गराइरह्यो ।
युद्ध र अराजकतामा मात्रै ती बहुमूल्य खनिज सम्पदाको निर्वाध लुटको अवसर प्राप्त भइरहने भएकोले विदेशी कम्पनीहरूले पनि त्यस्तो गृह युद्धलाई सघाइरहेका थिए ।

तीन दशकसम्म निरन्तर राजनीतिक अस्थीरता र गृहयुद्धको सियरा लियोन अनुभवलाई कङ्गो र जाम्बियाले पनि अनुशरण गरे । बहुमूल्य खनिज सम्पदाका विराट भण्डारका स्वामी राष्ट्रका जनताहरू विश्वको सबैभन्दा पीडादायी गरिबीमा बाँचीरहेका छन् ।

२. सन्दर्भ रुवान्डा, इजिप्ट र नेपालको

कहाली लाग्दो गृहयुद्ध र त्यसपछिको अत्यन्त प्रभावकारी द्वन्द्व व्यवस्थापन र सम्वृद्धि निर्माणको एउटा उदाहरण रूवान्डा बनेको छ ।
७० लाख जनसंख्या भएको रूवान्डामा १९९४ मा भएको गृहयुद्धमा आठ लाख भन्दा बढी मानिस मारिए । त्यत्रो मानिस मारिनेगरी भएको गृहयुद्धले त्यहाँको अर्थतन्त्रमा पुयार्एको क्षतिको सहजै अनुमान गर्न सकिन्छ ।

तर त्यही रुवान्डाले गएको दुई दशकदेखि लगातार ८ प्रतिशतको वृद्धि आर्जन गरिरहेको छ । कानुनको शासनलाई स्थापना गरेको छ । चौडा र सफा सडक, व्यवस्थित ट्राफिक, भ्रष्टाचार शून्य प्रशासन, उद्योग र व्यापार मैत्री राज्यनीति र दक्ष तथा प्रभावकारी नागरिक सेवाले रुवान्डालाई कुनै अफ्रिकी मुलुक भन्दा युरोपीय मुलुकको भएको आभास गराउँछ भनेर पश्चिमा विश्लेषकहरूले उल्लेखगर्ने गरेका छन् ।

इजिप्ट संसारकै सबैभन्दा उर्वर जमिन भएको मुलुक हो । इजिप्टले सिङ्गो अफ्रिकालाई पुग्ने गहुँ उत्पादन गर्न सक्दछ, तर ऊ संसारको सबैभन्दा बढी खाद्यान्न आयात गर्ने मुलुक बनेको छ ।

कुनै समय ठूलो परिमाणमा अनाज निर्यात गर्ने नेपाल आज हरेक महिना अढाई अर्बको अन्न आयात गर्ने मुलुक बनेको छ ।

३. अमेरिकाका जर्ज वासिंगटन र ह्यारी ट्रुमन र युरोप सन्दर्भ

अमेरिकी स्वतन्त्रता संग्रामका मूख्य नायक थिए जर्ज वासिंगटन । उनकै नेतृत्वमा अमेरिकी संविधान निर्माण गरियो । त्यतिखेर संसारमा सबैतिर राजतन्त्र थियो । उनले चाहेका भए आफैंलाई नयाँ अमेरिकाको राजा वा सम्राट घोषणा गर्न र गराउन सक्थे !

आजीवन राष्ट्रपति रहिरहन पनि सक्थे किनकी त्यतिखेरसम्म संसारमा कतै निश्चित अवधिकोलागि निर्वाचित राष्ट्रपतिको व्यवस्था नै थिएन ।
अमेरिकी संविधानले पनि कति पटकसम्म राष्ट्रपतिको पदको निर्वाचन लड्न पाउने उल्लेख गरेको थिएन । तर दुई कार्यकालपछि उनले स्वेच्छाले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार भएनन् ।

जर्ज वासिंगटनको निधन भएको एक सय ४६ वर्षपछि दोस्रो विश्व युद्धको अन्त्य नहुँदै अमेरिकी राष्ट्रपति पm्राङ्किलन रुज्वेल्टको निधन भयो ।

राष्ट्रपतिसँग केवल तीन औपचारिक कार्यक्रममा परस्पर देखादेख भएका ८२ दिनका उपराष्ट्रपति ह्यारी ट्रुमन दोस्रो विश्व युद्धको नेतृत्व गरिरहेको अमेरिकाका राष्ट्रपति भए ।

उनीसँग कुनै अनुभव थिएन ।

युद्ध, विदेश नीति र आन्तरिक प्रशासन सम्वन्धमा कुनै अनुभव नभएका ट्रुमनको नेतृत्व क्षमतालाई लिएर युरोप, अमेरिका र सिंगो विश्व त्रषित थियो । तर तिनै अनुभवहीन ट्रुमनले युद्धको अत्यन्त सफल र निर्णायक नेतृत्व मात्रै गरेनन दोस्रो विश्व युद्धले क्षत विक्षत भएको, लाखौँ(करोडौं मानिस भोक भोकै सडकमा सुत्न बाध्य युरोपका मुलुकहरूमा व्यवस्थितरूपमा खाद्य सामग्री उपलव्ध गराए।

आफू कम खाएर, कम लुगा कपडाले काम चलाएर, कम उपभोग गरेर युरोपलाई सहयोग गर्न उनले अमेरिकी जनतालाई प्रेरित गरे ।
विश्व इतिहासमा आजसम्म कै सबैभन्दा ठूलो पुनर्निर्माण कार्य सम्पन्न गराए त्यो पनि तीन वर्ष कै अवधिमा ।

एउटा नयाँ युरोप निर्माण भयो । सताब्दीयौँसम्म परस्पर युद्धरत युरोपलाई साझा एकता र विश्वासमा आधारित युरोपियन युनियनको पूर्वाधार उनैले निर्माण गराए ।

नाटोद्वारा उनीहरूको सुरक्षा सुनिश्चित गराए र आजको समृद्ध र सफल युरोपको आधारशिला तयार पारे ।

हिजो आफै विरुद्ध लड्ने शत्रु राष्ट्रका नागरिकहरूलाई खाने बस्ने व्यवस्था गराए, उक्त मुलुकको पुनर्निर्माण गराए ।

यस कार्यमा उनले मूलतः दुईजना महानायकको सहयोग लिए ।

एक थिए, विपक्षी रिपब्लिकन दलका पूर्व राष्ट्रपति हर्बर्ट हुबर र अर्का, अमेरिकी सेनाका सेबा निवृत्त सेना प्रमुख जर्ज मार्शल ।

पहिलो विश्व युद्धपछि पनि अत्यन्त व्यवस्थित र प्रभावकारी रुपमा युरोपमा खाद्य र अन्य राहत सामग्री उपलव्ध गराउनमा असाधारण नेतृत्व क्षमता प्रदर्शन गरेका हुबरलाई खाद्य बस्तु लगायतका राहत सामग्रीको सहयोग पुर्याउनमा ट्रुमनले जिम्मेवारी दिए र त्यसलाई हुबरले असाधारण क्षमता प्रदर्शन गरेर सफल बनाए ।

अर्को, ट्रुमनले हुबरलाई अमेरिकी प्रशासनलाई कसरी प्रभावकारी बनाउने भन्ने सम्बन्धमा अध्ययन गरेर प्रतिवेदन प्रस्तुत गर्ने जिम्मेवारी पनि सुम्पिए ।

यसलाई पनि हुवरले उत्तिकै सफलतापूर्वक सम्पन्न गरे र अमेरिकाको आजको प्रशासन संचालनमा हुबर प्रतिवेदनको छाप पर्याप्त अनुभव गर्न सकिन्छ ।

अर्को महत्वपूर्ण कुरो युरोपको पुनर्निर्माणको जिम्मेवारी मूलरूपमा उनले आफ्ना विदेश मंत्री जर्ज मार्शलको जिम्मामा सुम्पिए ।

त्यतिमात्रै नभएर राष्ट्रपति ट्रुमनले विश्व इतिहासको त्यस्तो सबैभन्दा ठूलो परियोजनाको नामाकरण नै आफ्ना विदेश मन्त्री मार्शलको नाममा गरिदिए ।

राष्ट्रपतिले आफू समक्ष उक्त परियोजनालाई आफ्नो नाउमा गर्न गरेको प्रस्तावबाट मार्शल यति भाव विह्वल भए कि उनले आँशु थाम्न सकेनन ।
कुनै राष्ट्रपतिले कुनै महान परियोजना आफ्ना सहायकको नाममा गराएको अर्को उदाहरण सम्भवत विश्व सामू छैन ।

उनका एक सहयोगीले ट्रुमनलाई त्यसको औचित्य बारे सोध्दा उनले दिएका थिए ( मुलुक र युरोपका लागि मार्शलले विगतमा गरेको योगदानको सम्मान र प्रतिष्ठाको स्वीकृति )

यी र यस्तै कुराले ट्रुमन विश्व इतिहासका एक महानायक बनेका छन् ।

४. निष्कर्ष

संसारको कुनै वा शासकसँग राष्ट्र र समाजलाई चाहिने सबै योग्यता, क्षमता र अनुभव सम्भव हुन्न । स्वच्छ र इमान्दार रहेर, आग्रहरहित भएर अरूको योग्यता, अनुभव र क्षमतालाई पहिचान गर्ने, त्यसको लाभ लिने, जस लिन होइन जस अरुलाई दिने हिम्मत गरे कुनै मुलुक गरीब र असफल रहनै सक्दैन ।

– केशवप्रसाद भट्टराई