ग्रेट गेम तिब्बत र नेपाल

Publish On: May 7, 2019

तिब्बतमाथिको अमेरिका र युरोपको चासोलाई आजको भूराजनीति र भूअर्थनीतिले मात्र प्रतिविम्वित गरेको छैन। कुनै पनि किसिमको आधुनिक यातायातका साधन विकास नहुँदै र युरोप औपनिवेशिक युगमा प्रवेश गर्नुभन्दा सयौं वर्षअघि नै तत्कालीन अवस्थामा राज्य सञ्चालनको नेतृत्वदायी भूमिकामा रहेका प्रमुख ईसाई पादरीहरूको रुचि तिब्बतमा आकर्षित भएको पाइन्छ।

यस क्रममा केही विवाद रहे पनि इटालीको पोर्डेननका फ्रायर (शिष्य पादरी) ओडोरिकले मध्य पूर्वका देशहरू हुँदै भारत, इन्डोनेसिया, श्रीलंका र चीनको भ्रमणको क्रममा सन् १३२८मा तिब्बतको भ्रमण गरेको बताइन्छ।

अर्का पादरी पोर्चुगलका फादर एन्टोनियो दे आन्ड्रेडा सन् १६२६मा तिब्बत पुगेका थिए।

१६६१मा अस्ट्रियाका पादरी जोहान ग्रुएबर र बेल्जियन पादरी अल्बर्ट द अर्भिल बेइजिङ्ग भएर ल्हासा पुगे र काठमाडौँ भएर फर्किए।

एकपछि अर्का युरोपियन पादरीहरूको तिब्बतमा भइरहेको निरन्तर आवागमनबाट ल्हासास्थित सशंकित चिनियाँ दूतको दबाबमा दुई फ्रेन्च पादरीहरू इभारिस रेगिस हुक र जोसेफ ग्याबेट तिब्बतबाट निष्काशित गरिएका थिए।

भारतमा अंग्रेजी शासन दह्रोसँग स्थापना भएपछि ब्रिटिस भारतका प्रथम गभर्नर जनरल लर्ड वारेन हेस्टिङ्सले १७७४मा जर्ज बोगलको नेतृत्वमा एउटा प्रतिनिधि मण्डल तिब्बत पठाए।
संस्कृत, तिब्बती लगायतका १३ भाषाका ज्ञाता र तिब्बत, सिक्किम, भुटान सम्बन्धमा झन्डै एक दर्जन पुस्तकका लेखक ग्राहम स्याण्डबर्गले आफ्नो विख्यात पुस्तकमा विभिन्न युरोपियन र अमेरिकी अन्वेषकहरूको तिब्बत भ्रमणको विस्तृत वर्णन समेटेका छन्।

इसाई धर्ममा रोमन क्याथोलिकभन्दा पृथक धारका क्यापुचिन पादरीहरू त सन् १७०० को शुरूमै ल्हासा पुगिसकेका थिए । रोमन पादरी इपोलिटो डेसिडेरी जस्ता भर्खरका युवाहरू कसरी कठिन र संघर्षपूर्ण यात्रा गर्दै मार्च १८, १७१६मा ल्हासा पुगेका थिए भन्ने कुराको रोमाञ्चक वर्णन स्वयम् उनी आफैंले गरेका छन्।

तिब्बत गएका इपोलिटो डेसिडेरीले त्यहाँको अति चिसो र कठिन जीवनबाट छुटकारा पाउन तिब्बत छोड्ने अनुमतिका लागि आफ्ना उच्चाधिकारीहरूलाई गरेको विलौनापूर्ण निवेदनको क्रममा उनले तिब्बत र नेपालको सीमानामा रहेको कुती हुँदै नेपाल भएर भारत र स्वदेश फर्किन चाहेको एउटा पत्र २१ सेप्टेम्बर १७२१मा लेखेका छन्। यसबाट त्यस्ता इसाई पादरीहरू आफ्नो इच्छाले भन्दा आफ्ना उच्चाधिकारीहरूको अनुमतिले खास प्रयोजनको लागि तिब्बत वा अन्य मुलुकमा जाने गरेको सावित हुन्छ।

फादर डेसिडेरी नेपाल हुँदै बेतिया भएर आफ्नो मुकामतर्फ लागे तर उनको उक्त पत्रले नेपाल सम्वन्धमा पनि दुई कुरालाई सङ्केत गर्दछ। एउटा त त्यतिखेर काठमाडौँ, पाटन र भक्तपुरमा अलग अलग राजाको शासन भए पनि तीनै राज्यको सामूहिक परिचय नेपाल थियो र तिब्बती सवालमा उपत्यकाका तीनै राजाहरू नेपालको हैसियतमा व्यवहार गर्ने गर्थे। जस्तो त्यतिखेर भक्तपुरमा भूपतिन्द्र मल्ल राजा थिए। काठमाडौँमा भाष्कर मल्लपछि महेन्द्र सिंह राजा थिए र कारण विशेष उनी पाटनको समेत राजा बन्न पुगेका थिए। महेन्द्र सिंहको निधनपछि पाटन फेरि स्वतन्त्र राज्यको रूपमा आयो र योगप्रकाश मल्ल त्यहाँका राजा भए र काठमाडौँमा जयज्जग मल्ल राजा भए।

दोस्रो, त्यतिखेर तातोपानी-कोदारी हुँदै जाने कुती नाकामाथि भक्तपुरको प्रभुसत्ता त थियो तर उपत्यकाका तीनवटै राज्यका सरकारी प्रतिनिधि कुतीमा बस्थे। ल्हासामा उनीहरूका वाणिज्य दूत हुन्थे तर उनीहरूको कुती र ल्हासाको उपस्थिति माथि भनिएजस्तै फरक राज्यको रूपमा नभएर सामूहिक थियो।

त्यतिखेर काठमाडौँबाट ल्हासा पुग्न ४५ दिन लाग्थ्यो र कुती पुग्न १५ दिन लाग्थ्यो। पहाड र हिमालका उकाली, ओराली, गल्छी र खोँच हुँदै काठमाडौँबाट ल्हासा र गोवाबाट अर्को महिनौं दिनको कठिन र जोखिमपूर्ण यात्रामा आउने युरोपियनहरूको लक्ष केवल धर्म प्रचार मात्र थिएन भनेर बुझ्न कठिन छैन।

स्मरणीय छ, संसारको केन्द्रको रूपमा बुझिने तिब्बतको बारेमा पश्चिमको चासो अलेग्जेन्डर महान (ईशा पूर्व ३५६- ३२३) देखि नै देखिएको थियो। अलेग्जेन्डर तिब्बती भोटे कुकुरहरूका प्रेमी भएको र उनकै कारण त्यस्ता जातका कुकुरहरू युरोप पुगेका बताइन्छ। अलेग्जेन्डरले आफ्ना केही सैनिकहरूलाई तिब्बत जाने मार्ग पहिचान गर्न खटाएको र सो क्रममा उनीहरू वर्तमान पाकिस्तानको हिमाली क्षेत्रमा अलमलिएर त्यतै बसोबास गरेको बताइन्छ।

इसाई पादरीहरू आफ्नो इच्छाले भन्दा आफ्ना उच्चाधिकारीहरूको अनुमतिले खास प्रयोजनको लागि तिब्बत वा अन्य मुलुकमा जाने गरेको सावित हुन्छ।

अलेग्जेन्डरका तिनै सेनाका सन्तान पाकिस्तानको हिन्दकुश हिमाल क्षेत्रका कलस जाती रहेका र आधुनिक आनुबांशिकी अध्ययनबाट सो प्रमाणित भएकोबारे सम्वन्धित अनुषन्धानलाई उद्धृत गर्दै न्यु योर्क टाइम्सले उल्लेख गरेको छ।

सातौं सताव्दीका स्रोङचन गम्पोको तिब्बती साम्राज्यले युरोप र सिंगो एसियाको ध्यानाकर्षण गरेको थियो। तेह्रौं सताव्दीको चंगेज खाँको मङ्गोल साम्राज्य प्रशान्त महासागरदेखि मंगोलिया, चीन, तिब्बत र मध्य एसियाका मुलुक, अफगानिस्तान, जर्मनीको पश्चिम भाग भएर पूर्वतिर लाग्ने डेन्युव नदीसम्म विस्तारित थियो। दुई करोड ३० लाख वर्ग किलोमिटर क्षेत्रमा फैलिएको उनको साम्राज्य अलेग्जेन्डर महानको साम्राज्य भन्दा चार गुणा ठूलो थियो।

सन् १८४६मा ब्रिटिस भारतका एक सैन्य अधिकारी लेफ्टिनेन्ट हेनरी स्ट्राचे स्पष्ट रणनीतिक उद्देश्यका साथ तिब्बत गए त्यसपछि त्यो क्रम निरन्तर चलिरह्यो। रूसीहरू पनि त्यसैगरी तिब्बतको कुना-कुना सम्म विभिन्न राजनीतिक, रणनीतिक र भौगोलिक तथा प्राकृतिक उद्देश्यले पुगिरहेका थिए।

त्यसैगरी तिब्बत भ्रमण गर्नेहरूमा अमेरिकीहरू पनि थिए र उनीहरूमध्ये अमेरिकी लेखक, अन्वेषक र कूटनीतिज्ञ विलियम वुडभिल रकहिल विशेष थिए। रूस, चीन लगायत विभिन्न मुलुकमा राजदूत समेत रहेका र विभिन्न युरोपेली भाषाका साथै संस्कृत, चिनियाँ र तिब्बती भाषामा समेत पोख्त उनी पछि अमेरिकाको सहायक विदेशमन्त्री समेत भएका थिए। १८९१मा प्रकाशित र तिब्बतको भौगोलिक, धार्मिक र सांस्कृतिक जनजीवनबारे लेखिएको उनको पुस्तक त्यतिखेरसम्मको सबैभन्दा गहन र विस्तृत रहेको बताइन्छ। सो क्रममा त्यस अघि कसैले भ्रमण नगरेको बिकट क्षेत्रहरूमा उनी पुगे।

दोस्रो पटकको भ्रमणमा मात्रै उनले करीव १४ हजार किलोमिटरको यात्रा तय गरे। घोडा, खच्चरमा यात्रा गर्नुको साथै लामो पैदल भ्रमण गरे। पाँच हजार मिटर आसपास उचाइका ६९ भन्ज्याङहरु पार गरे, तीन हजार चार सय १७ स्थानको सर्भे गरे, सयौं फोटो खिचे र सयौं मानव शास्त्र, बनश्पति शास्त्र र भूगर्भ शास्त्रीय महत्वका नमूनाहरू संकलन गरे।
यति प्रष्ट रणनीतिक उद्देश्यका साथ तिब्बतको त्यति गहन र विस्तृत भ्रमण त्यस अघि कसैले गरेका थिएनन्। संयोग हो कि के हो त्यो अर्कै कुरा होला, तर रकहिलको पुस्तक प्रकाशित भएको छ दशक पछि त्यही खाम र आम्दो क्षेत्रका तिब्बतीहरूले चीनियाँ आधिपत्य विरूद्ध ठूलो विद्रोह गरे।

सीआइएले नेपालको भूमिबाट समेत तिब्बतमा गराएको गुप्त खम्पा बिद्रोहमा संलग्न विद्रोहीहरूको मूलभूमि पनि खाम र आम्दो नै थियो।

तिब्बतमा ठूला शक्ति राष्ट्रहरूको ग्रेट गेम

भारतस्थित अङ्ग्रेज शासकहरूले तिब्बतको रणनीतिक महत्वलाई अत्यधिक बुझेका थिए।

भारतको सुरक्षाको लागि दोस्रो बफर पङ्क्तिको रूपमा तिब्बतको महत्वलाई उनीहरूले राम्ररी आत्मसात गरेका थिए।

तिब्बतमाथि चीनको प्रभुसत्ताको साङ्केतिक चरित्रबारे अङ्ग्रेज शासकहरू स्पष्ट थिए । त्यसैले तिब्बतमाथि उनीहरूले पनि नेपालले जस्तै आक्रमण गरे।

चुम्बी उपत्यका लगायतका तिब्बती भूभाग आफ्नो नियन्त्रणमा लिएर १८९०को सन्धिगर्न तिब्बतलाई वाध्य बनाए।

सन्धिपछि चुम्बी त फिर्ता गरे तर सिक्किममाथिको तिब्बती स्वामित्वलाई अन्त्य गरेर आफ्नो संरक्षित राज्यको मान्यता दिलाउन सफल भए।

त्यसको तीन बर्ष पछि तिब्बतसँग व्यापारिक सन्धि पनि गरे।

ब्रिटिस भारतको बढ्दो दवावलाई सामना गर्ने क्रममा तिब्बतले रूससँग पनि सम्वन्ध बढाएको थियो स्मरणीय छ, ब्रिटिस भारतका गभर्नर जनरलको पत्रसम्म ग्रहणगर्न अस्वीकार गर्ने दलाइ लामाले रूसका सम्राटलाई पत्र लेखेको, आफ्नो प्रतिनिधि मण्डल रूस पठाएको र रूसबाट उपहारमा हातहतियार ल्याएको अवस्थाले चीनलाई चिन्तित बनाएपछि चीनले रूससँग गुप्त सन्धि गरेको थियो तिब्बतमा रूसको सरोकारलाई चीनले मान्यता दिएको र चीन र तिब्बतमाथि हुने कुनै आक्रमण विरूद्ध रूसले सहयोग गर्ने जस्ता सहमतिहरूले अङ्ग्रेज सरकार चिन्तित बन्न पुग्यो।

रूस र चीनको त्यस्तो सम्झौताको बलमा चीन आफ्ना साम्राज्यवादी महत्वाकांक्षाहरूलाई मूर्तरूप दिन स्वतन्त्र बन्न पुगेको र त्यसबाट चीनियाँ सेनाले तिब्बत छिचोलेर सिक्किम र भुटानलाई नियन्त्रणमा लिँदै नेपालमाथि आक्रमण गर्न सक्ने र त्यो भारतीय सुरक्षाको लागि अत्यन्त खतरनाक हुन सक्ने ठहर उसको थियो।

अनि रूस र चीनवीचको रणनीतिक सामिप्यताले विगतमा चीनको प्रभुत्व अन्तर्गतको तर तत्कालमा बृटिस साम्राज्य अन्तर्गतको बर्मा (हाल म्यान्मार) माथिको उसको स्वामित्वमाथि समेत पुग्न सक्ने चुनौतीले काश्मिरदेखि बर्मासम्मको भारतको हिमालय क्षेत्रको भूसीमानाको दुई तिहाई भागको सुरक्षा चिन्ता अंग्रेज सरकार बोक्न पुग्यो।

त्यस अवस्थामा तिब्बतमा एउटा सैनिक मिसन पठाउने र त्यहाँ ब्रिटिस दुत रहने व्यवस्थाको लागि तिब्बतलाई वाध्य बनाउने रणनीति अङ्ग्रेज सरकारले बनाइरहेकै बेलामा रूस सरकारले बृटिस विदेशमन्त्री लर्ड्स ल्यान्सडोनलाई पत्र लेखी रूसले तिब्बत सम्वन्धमा स्वयम् तिब्बत वा चीनसँग कुनै सम्झौता नगरेको, तिब्बतमा आफ्नो कुनै दुत नरहेको र त्यस्तो दुत राख्ने कुनै सोच समेत नराखेको कुरा बताएको अवस्थाले अंग्रेज सरकार आश्वस्त भए पनि एसियाको वृहत्तर सुरक्षाको दृष्टिले त्यस्तो कुनै रणनीतिक उद्देश्यका त्यस्ता कुनै गठवन्धनलाई अस्तित्वमानै आउन नदिन अंग्रेज सरकार प्रतिवद्ध थियो।

त्यसैले ब्रिटिस भारतका गभर्नर जनरल लर्ड कर्जनले कर्णेल यङ्गहजब्यान्डको नेतृत्वमा एउटा सैन्य अभियान दल तिब्बत पठाएका थिए।

सो दलको आक्रामक सैन्य अभियानको क्रममा दलाई लामा भागेर मङ्गोलिया पुगे, त्यसलाई चीनले दलाइ लामालाई दोस्रो पटक निष्कासन गर्ने र आफ्नो प्रभुत्वलाई स्थापना गर्ने अवशरको रूपमा लियो।

त्यसले झन् स्थिति प्रतिकूल बन्ने अवस्था आएपछि नेपाल समेतको पहलमा अंग्रेज सरकार र तिब्बतवीच एक सन्धी सम्पन्न भयो।

सो सन्धिले ब्रिटिस सरकारको सहमति बेगर तिब्बतको कुनै भूभाग कुनै अर्को मुलुकमा गाभ्न, निश्चित अवधिको लागि कुनै विदेशी शक्तिलाई तिब्बती भूभाग करारमा सुम्पिन उनीहरूलाई सडक निर्माण, खनिज पदार्थको दोहनमा विशेष सुविधा प्रदान गरिने छैन।

ब्रिटिस सरकारको त्यस्तो अनुमति बेगर कुनै विदेशी मुलुक वा त्यहाँका जनतालाई कुनै रकम प्रदान गर्न, तिब्बतको आन्तरिक मामिलामा उनीहरुलाई हस्तक्षेप गर्न दिन वा त्यस्ता मुलुकलाई तिब्बतमा आफ्नो दुत राख्न तिब्बत सरकारले स्वीकृति दिने छैनभन्ने प्रवन्धलाई समेत उक्त सन्धिले स्वीकार गरेको थियो।

१८९४-१८९५ मा कोरिया र ताइवानमाथिको प्रभुत्वलाई लिएर चीन र जापान वीच युद्ध भएको थियो।

युद्धमा चीन नराम्ररी पराजित भयो र कोरियालाई स्वतन्त्र राष्ट्रको मान्यता दिन वाध्य भयो।

चीन ताइवान माथिको नियन्त्रणलाई परित्याग गर्न सहमत भयो र तिनै प्रावधानहरू सहितको सन्धि दुई मुलुक वीच सम्पन्न भयो।

उक्त युद्धले जापानलाई सर्वशक्तिमान एसियाली राष्ट्रको हैसियत प्राप्त भयो।

जापानलाई प्राप्त उक्त हैसियतले पूर्वी युरोपदेखि मध्य एसिया हुँदै पूर्वी एसियासम्म विस्तारित रूसलाई स्वाभाविकरूपमा चिन्तित बनायो।

अर्को कुरा, रूस महाकाय त थियो तर पूर्वी एसियामा उसको एउटा मात्र बन्दरगाह थियो र त्यो पनि अत्यधिक ठण्डी प्रदेशमा पर्ने भएकोले बर्षको केही महिना मात्र संचालनमा आउन सक्ने- बाँकी समय हिउँले छोपिने भएकोले त्यस्तो भू रणनीतिक बन्धन अन्त्य गर्न ऊ प्रतिवद्ध थियो।

त्यसैले कोरिया प्रायद्विप र कोरियाको पश्चिम तर्फको लियाओदोङ प्रायद्विप( हाल चीनको स्वामित्वमा रहेको) मा उसको रणनीतिक दृष्टि थियो र उक्त दुवै प्रायद्विपमा आफ्नो नियन्त्रण स्थापना गर्न चाहन्थ्यो।

अघिल्लो चीन-जापान युद्धमा उसले चीनलाई सैन्य सहयोग समेत उपलव्ध गराएकोले उक्त दुवै क्षेत्रमाथि प्रभुत्व स्थापना गरेर त्यहाँ आफ्नालागि बाह्रै महिना उपयोगमा आउन सक्ने बन्दरगाह सुविधा विकास गर्न चाहन्थ्यो।

तर आफ्नो प्रभाव क्षेत्र र आफ्नो सीमा नजिक शक्तिशाली रूसको उपस्थिति जापानलाई स्वीकार्य थिएन।

यिनै परिवेशमा दुई मुलुक वीच तनाव बढ्दै जाँदा १९०४-१९०५मा रूस र जापान वीच युद्ध भयो।

रूस पराजित भयो।

जापानद्वारा पराजित रूस र चीनको क्षीण राजनीतिक, सैनिक र रणनीतिक मनोवल ब्रिटिस भारत सरकारको लागि परोक्ष वरदान बन्न पुग्यो।

भारतमाथिको उसको औपनिवेशिक स्वामित्व र तिब्बतमाथिको उसको प्रभुत्व चुनौती रहित बन्न पुग्यो।

दोस्रो विश्व युद्ध सम्म बेलायत क्षेत्रमा सोही हैसियतमा रहिरह्यो।

(लेखक नेपाल इन्स्टिच्युट फर स्ट्रेटेजिक स्टडिज (निस) सँग सम्वद्ध छन्।)

केशवप्रसाद भट्टराई