पाकिस्तानी चुनाव र भारतसँगको सम्बन्ध

Publish On: August 1, 2018

पाकिस्तानसँग एउटा सफल र सबल राष्ट्रका रूपमा विश्व समुदायमाझ स्वाभिमानका साथ खडा हुने आन्तरिक ऊर्जा र इच्छाशक्तिको अभाव भने छैन

सिन्थिया शकको सन् २०१५ मा प्रकाशित पुस्तक दि पाकिस्तान प्याराडक्स मा एक पाकिस्तानी लेखक लाल खानको पुस्तक पाकिस्तानस् अदर स्टोरी को एक अंशलाई उद्धृत गरिएअनुसार स्थापनाको यत्तिका वर्षपछि पनि पाकिस्तान मुलुक खोजिरहेको राष्ट्रबाट राष्ट्र खोजिरहेको मुलुककै रूपमा छ।

भारत र पाकिस्तान एक दिनको अघिपछि गरेर स्वतन्त्र मुलुकका रूपमा अस्तित्वमा आएको भए पनि भारतले लामो समयसम्म जवाहरलाल नेहरूको प्रभावशाली नेतृत्वअन्तर्गत राजनीतिक स्थिरता पाइरह्यो। तर पाकिस्तानका संस्थापक मुहम्मद अली जिन्हाको निधन भने पाकिस्तान स्वतन्त्र भएको वर्ष दिन पुगेलगत्तै भयो। त्यसपछिको निरन्तरको राजनीतिक अस्थिरता, भारतबाट पाकिस्तानको स्वतन्त्रतामाथिको वास्तविक वा काल्पनिक भयले पाकिस्तानलाई स्वाभाविक र सहज राष्ट्र बन्नै दिएन। राजनीतिक अस्थिरताको लामो चक्रले प्रजातन्त्रलाई सुदृढ र संगठित हुनबाट रोकिरह्यो। पाकिस्तानी राजनीति र प्रजातन्त्रको त्यो अभावलाई धार्मिक र जातीय अतिवादिताबाट क्षतिपूर्ति गर्ने अभ्यासले जनता र प्रजातन्त्रलाई झन्झन् असंगठित र अराजक बनाइरहे र त्यसैमा प्रवेश गरेर पाकिस्तानी सेनाले आफ्नो राजनीतिक सत्ता र शक्तिको महत्वाकांक्षा सिद्धि गरिरह्यो।

गएको जुलाई २५ मा पाकिस्तानको राष्ट्रियसभाका तीन सय ४२ स्थानमध्ये दुई सय ७२ स्थानका लागि भएको निर्वाचनमा अप्रिल १९९६ मा क्रिकेटबाट सन्न्यास लिएर तहरिक ए इन्साफ पार्टी स्थापना गरेका इमरान खानको पार्टीले एक सय १५ स्थानमा विजय प्राप्त गरेर सबैभन्दा ठूलो दलको रूपमा आयो। भ्रष्टाचारको अभियोगमा थुनामा रहेका पूर्वप्रधानमन्त्री नवाज सरिफको दल मुस्लिम लिगले ६४ सिट प्राप्त गरेर दोस्रो स्थान र पूर्वप्रधानमन्त्रीहरू जुल्फिकर अली भुट्टो नाति र बेनजिर भुट्टोका छोरा बिलावल भुट्टो जर्दारी नेतृत्वको पाकिस्तान पिपुल्स पार्टीले ४३ सिट प्राप्त गरेर तेस्रो स्थानमा पुगेको छ।

प्रान्तीय विधानसभाका लागि भएको निर्वाचनका हकमा पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त पन्जाबमा नवाज सरिफ र इमरान खानको पार्टीबीच एक सिटको मात्रै अन्तर देखिएको छ। दोस्रो ठूलो प्रान्तमा बिलावल भुट्टो जर्दारीको दलले अत्यधिक स्थानमा विजय प्राप्त गरेको छ। बलुचिस्तानमा सबै स्थानमा क्षेत्रीय दलहरू नै विजयी भए। खैबर पख्तुन ख्वा प्रान्तमा पनि इमरान खानको दल दुईतिहाइ बहुमतका साथ आएको छ।

भारतको जम्मु कास्मिर, पाकिस्ताननियन्त्रित आजाद कास्मिर, अफगानिस्तान र चीनसँग सीमा जोडिएको सुदूर उत्तरपूर्वमा पर्ने स्वायत्त क्षेत्र भनिने पाकिस्तानको पाँचौं प्रान्त गिल्गिट बाल्तीस्तान हो। पाकिस्तानको बलुचिस्तान हुँदै गिल्गिट बल्तीस्तान पस्ने अनि त्यहाँबाट चीनको सिन्जियाङ प्रान्त पुग्ने चाइनापाकिस्तान इकोनोमिक कोरिडोरको मुख्य बिन्दु भएको र सो भाग भारतले दाबी गरिरहेको भूभागसमेत हो। भूराजनीतिक अगेनोका रूपमा रहेको गिल्गिट बाल्तीस्तान प्रान्तमा यसपटक निर्वाचन भएको छैन।

युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण दलको प्रतिवेदनअनुसार चुनावको दिन त कुनै धाँधली र हस्तक्षेपका घटना भएन, तर सेनाको हस्तक्षेपलाई इंकित गर्दै निर्वाचन परिणामलाई असर पुर्‍याउने गम्भीर संरचनात्मक दबाब र हस्तक्षेपका कार्य निर्वाचन घोषणापछिका दिनदेखि नै व्यापकरूपमा भएकोबारे उक्त प्रतिवेदन स्पष्टसँग बोलेको छ।

सबै दललाई समान अवसर उपलब्ध नगराइएको, इमरान खानको दललाई सहयोग पुग्ने गरी सेनाले कार्य गरेको, न्यायिक प्रक्रियाले पनि नवाज सरिफको दललाई बुझिने गरी दण्डित गरेको, प्रेसमाथि सोअनुरूप दबाब निर्माण गरिएको र नवाज सरिफको दल परित्याग गरी तहरिक ए इन्साफ दलमा आबद्ध हुन प्रेरणा र दबाब दिइएको उक्त प्रतिवेदनमा उल्लेख छ।

विजय इमरान खानको सत्ता पाकिस्तानी सेनाको

लगातारको कठिन राजनीतिक संघर्ष र चौथोपटकको निर्वाचनपछि इमरान खानले सैनिक क्षमताका आधारमा इस्लामिक जगत्को सबैभन्दा शक्तिशाली मुलुकको नेतृत्व गर्ने अवसर प्राप्त गरेका छन्। उनको पार्टीले मुलुकका सबै प्रदेशमा आफ्नो उपस्थिति सावित गरेर वास्तवमा एउटा सशक्त राष्ट्रिय पार्टीको परिचय निर्माण गरेको छ। निर्वाचन भएका चार प्रान्तमध्ये दुई प्रान्तमा आफ्नै नेतृत्वको बहुमतको सरकार र सिन्ध प्रान्तमा गठबन्धन गरेर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने सम्भावना छैन भन्न सकिन्न। केन्द्रमा सबैभन्दा ठूलो दलको हैसियतमा खान नेतृत्वमा अन्य दलसँग तालमेलको सरकार गठन हुने निश्चित देखिएको छ।

जुलाई २७ मा ब्रिटिस दैनिक गार्जियनमा चर्चित पत्रकार समिरा स्याकलको टिप्पणीको शीर्षक थियो, इमरान खानले पाकिस्तानमा विजय प्राप्त त गरे तर वास्तविक सत्ता भने सेनासँगै छ।

इमरानले नयाँ पाकिस्तानको नारा लगाउँदै आएका छन्। जुलाई २७ मा पाकिस्तानी दैनिक एक्सप्रेस ट्रिब्युनको सम्पादकीयले मुलुकभरि परिवर्तनको वायुको बहाव भएको, मानिसमा आशा जागेको उल्लेख गरेको छ। तर पाकिस्तानका आर्थिक र मानव विकाससम्बन्धी चुनौतीहरू, व्यापक बेरोजगार समस्या, इन्धन संकट, आन्तरिक र सीमा सुरक्षा, नागरिकसेना सम्बन्ध र विदेश नीतिसम्बन्धी जटिल चुनौतीहरूले गाँजेको मुलुकको नेतृत्व सहज नभएको उसको निष्कर्ष छ। त्यसमाथि नवाज सरिफको दल र बेनजिर पुत्र बिलावलको दलले प्रान्तहरूमा र केन्द्रमा संयुक्तरूपमा विपक्षको भूमिकामा सहकार्य गर्ने सम्भावना बढ्दै गएको देखिन्छ।

भारतसँगको सम्बन्ध र कास्मिर सवालमा नरम नीति अंगीकार गर्ने संकेत निर्वाचन अभियानमा इमरानले गरेका थिए। सम्बन्ध सुधारका क्रममा भारतले एक कदम अघि चालेमा आफू दुई कदम अघि बढ्ने पनि बताएका थिए। तर पाकिस्तानलाई आतंकवादको केन्द्र र राज्यप्रेरित आतंकवादको आरोप लगाउँदै आएको भारतले २००८ को नोभेम्बर २६ मा मुम्बईमा भएको आतंकवादी आक्रमणको मुख्य योजनाकार भनेर भारत र अमेरिका दुवै मुलुकले आतंककारीको सूचीमा राखेका लस्करे तैबका प्रमुख हाफिज साइदको संगठनले उक्त निर्वाचनअन्तर्गत दुई सयभन्दा बढी संसदीय स्थानमा स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएको समाचार आएका थिए। साइदका कुनै उम्मेदवार विजयी त भएनन्, तर उनका उम्मेदवारहरू अधिकांश स्थानमा दोस्रो मत हासिल गर्न सफल भएका र त्यसले पाकिस्तानी राजनीतिमाथि भविष्यमा निर्माण गर्ने दबाब र प्रभाव निकै जटिल हुने र त्यसले खान सरकारको भारतसँगको सम्बन्धमा त्यसको गम्भीर असर पर्ने कुरा अवश्यम्भावी देखिन्छ।

चुनावभन्दा करिब दुई साताअघि रूस, चीन, इरान र पाकिस्तानका गुप्तचर प्रमुखहरूको एउटा असामान्य गोप्य बैठक पाकिस्तानमा भएकोबारे रूसी समाचार संस्था तासले दिएको समाचारलाई आधार मान्दै भ्वाइस अफ अमेरिका र पाकिस्तानबाट प्रकाशित हुने नेसन पत्रिकाले जानकारी दिएका थिए। अफगानिस्तानसम्बन्धी एकीकृत नीति निर्माण गर्ने उद्देश्यले भएको भनिएको उक्त बैठकले तय गरेका नीति र रणनीतिहरूबारे जानकारी बाहिर नआएको भए पनि सिरिया र इरान मामिलापछि अफगानिस्तान सवालमा एकातिर अमेरिका र भारत अर्कोतिर रूस, चीन, इरान र पाकिस्तानका परस्पर विरोधी अफगान रणनीतिबीचको टक्करले अफगानिस्तान र क्षेत्रमा द्वन्द्वका नयाँ सम्भावना विकास हुँदै गरेको बुझ्न सकिन्छ।

अमेरिकी पत्रिका फरेन अफियर्समा हालै प्रकाशित सी. क्रिस्टिन फेयरको लेखअनुसार सेना र पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईले इमरान खानको पार्टीको विजय सुनिश्चित हुने र नवाज सरिफ र बिलावल भुट्टोको दलको पराजयलाई पक्का गर्ने उद्देश्यले सयौंको संख्यामा कट्टरपन्थी मुस्लिम उम्मेदवारहरूलाई निर्वाचनमा खडा गराएका थिए। परिणाम त्यस्तै आयो। क्रिस्टिन फेयरअनुसार पाकिस्तानको सर्वोच्च अदालतसमेत यो चुनावमा नवाज सरिफको दललाई पराजित गर्ने साधनका रूपमा उपयोग भएको थियो। त्यसैले फेयर भन्छिन् यो चुनावले पाकिस्तानको आन्तरिक र बाह्य नीतिमा खासै फरक पर्ने छैन, किनकि मुलुकका त्यस्ता नीतिहरू संसद् र प्रधानमन्त्री कार्यालयमा निर्माण हुँदैनन्, रावलपिन्डीस्थित सेनाको मुख्यालयमा हुन्छन्।

पाकिस्तानको भविष्य र भारतसँगको सम्बन्ध

फेयरअनुसार सन् २०१३ को निर्वाचनमा नवाज सरिफले सेनाको अफगान र भारत नीतिविपरीतका अभिव्यक्ति दिएका, सेनासँग कुनै तालमेल नगरी चुनाव लडेका र विजय प्राप्त गरिसकेपछि पनि सेनामाथि नागरिक नियन्त्रण बढाउने नीति अंगीकार गरेकाले सेना उनीसँग चिढिएको थियो। त्यसको प्रतिशोध लिने क्रममा नवाज सरिफविरुद्ध भ्रष्टाचारको अभियोग लगाएर उनलाई थुनामा राखेर उनको दलको चुनावी सम्भावनालाई समाप्त पर्ने रणनीति अवलम्बन गरेको थियो। फेयरको विचारमा पाकिस्तानी सेनाले आतंकवादलाई प्रोत्साहन र संरक्षण गर्ने नीतिलाई यथावत् सञ्चालन गर्नेछ।

एउटा उदाउँदो र शक्तिशाली भारत एउटा दुर्बल, आर्थिकरूपमा कमजोर र इस्लामिक कट्टरपन्थ तथा आतंकवादले जर्जर बनाएको पाकिस्तानको सामना गर्नु कत्तिको दुसाध्य र कष्टप्रद कार्य हो भन्नेबारेमा भारतले नबुझेको नहुनुपर्ने हो।

जुलाई २८ मा अर्को अमेरिकी पत्रिका दि एट्लान्टिकमा रेहान सलामले फेयरको जस्तै विचार व्यक्त गरेका तर इमरान खानको लोकप्रियताले पाकिस्तानमा जातीय आधारमा खडा भएका दललाई छेउ लगाएर एउटा सुखद् संकेत दिएको उनले बताएका छन्।

जापानबाट प्रकाशित हुने र मूलतः एसिया प्रशान्त क्षेत्रमा केन्द्रित अनलाइन पत्रिका दि डिप्लोम्याटमा जुलाई २७ मा उमैर जमालले इमरान खानलाई अधीर, अस्थिर विचारका र गहन र जटिल विषयमा गम्भीर बहस र छलफल नरुचाउने बताएका छन्। गएको पाँच वर्षमा उनको दलको नेतृत्वको सरकारले खैबर पख्तुनख्वा प्रान्तमा ठूलाठूला कुरा गरेको तर परिणाम भने नगन्य रहेको उनले उल्लेख गरेका छन्।

चुनाव सन्दर्भमा भारत र कास्मिरबारेका खानका भनाइ र टिप्पणीहरू पनि त्यस्तै भएको जमालले उल्लेख गरेका छन्। अर्को कुरा, एक त यस सम्बन्धमा उनले जेजति भनेका छन्, त्यसको सानो अंशमा पनि भारतसँगको सम्बन्धमा उनले सुधारका प्रयास गरे भने त्यो ठूलो कुरो हुनेछ। तर उनका कुनै प्रयासलाई सेनाले गर्ने समर्थनको चरित्रले निर्धारण गर्ने जमाल उल्लेख गर्दछन्। नवाज सरिफले जस्तै सेनाको अनुमोदनविना भारतसँग सम्बन्ध सुधार गर्ने कुनै प्रयास उनले गरे भने इमरान खानले पनि सरिफकै जस्तो नियति भोग्नुपर्नेमा जमाल विश्वस्त छन्।

भारतको पाकिस्तानसँगको सम्बन्धमा अफगानिस्तान एउटा जटिल र प्रबल पक्ष रहिआएको छ। तेल र अन्य बहुमूल्य प्राकृतिक साधन र स्रोतले भरिपूर्ण मध्य एसियाका मुलुकहरूमा पहुँच निर्माण गर्न र त्यहाँबाट रूस र पूर्वीयुरोप पुग्न भारत र पाकिस्तान दुवैका लागि अफगानिस्तान मुख्य प्रवेश द्वार हो। अफगानिस्तानमा प्रभुत्व राख्ने मुलुकले पश्चिम एसिया, मध्य एसिया र चीनमा नजिकबाट सघन रणनीतिक दृष्टि राख्न र हस्तक्षेप गर्न सक्ने भएकाले पनि भारतको अफगानिस्तानमा गहिरो रणनीतिक रुचि निर्माण भएको छ। पाकिस्तानमा पृथकतावादी गतिविधिको केन्द्र बनेको बलुचिस्तानमा भारतीय गुप्तचर एजेन्सीहरू व्यापक स्तरमा उपस्थित रहेको बारे रअ मा उच्चाधिकारी भई कार्य गरेका लगायतका भारतीय लेखकहरूले स्वीकार गरेका छन्। त्यसैले बलुचिस्तानको पश्चिम सीमा जोडिएको अफगानिस्तानमा आफ्नो उपस्थितिको महत्वलाई भारतले ठूलो प्राथमिकता दिने गरेको छ। त्यसको एउटा अवश्यम्भावी असर भारतीय कास्मिरमा पोखिने गरेको पनि स्पष्ट छ।

चीन र पाकिस्तान दुवैको महत्वपूर्ण राष्ट्रिय सरोकार र प्रतिष्ठाको विषय बनिरहेको चीनपाकिस्तान इकोनोमिक कोरिडोरले बलुचिस्तानको दक्षिणदेखि उत्तरी सीमासम्म पुग्छ। त्यसको आसपास निर्माण गरिने विशेष आर्थिक क्षेत्रलाई पाकिस्तानले आफ्नो समृद्धिको साधक परियोजना मानेको छ। त्यसैले उक्त कोरिडोर चीन, भारत र पाकिस्तानको गम्भीर विवाद, तनाव र संवेदनशीलताको विषय बनिरहेको छ।

पाकिस्तानी राष्ट्रपति ममुन् हुसैनले उक्त कोरिडोर बलुचिस्तानलाई बाँकी विश्वसँग जोड्ने महत्वपूर्ण मध्यम उल्लेख गर्दै भारतलाई लक्षित गरेर बलुचिस्तानमा प्रत्यक्ष वा परोक्षरूपमा समस्या खडा गरिरहेका शत्रुहरू नराम्रोसँग पराजित हुने बताएकोबारे पाकिस्तानी दैनिक एक्सप्रेस ट्रिब्युनले गएको ५ अप्रिलमा उल्लेख गरेको थियो। इमरान खानको नेतृत्वमा बन्ने नयाँ सरकारले पनि चीनपाकिस्तान इकोनोमिक कोरिडोरलाई समर्थन गर्नेबारे सोही दैनिकले हिजो ३० जुलाईमा उल्लेख गरेको छ।

भारत र पाकिस्तानबीचको सम्बन्धमा रहेको संकटले सिंगो दक्षिण एसियाको क्षेत्रीय सहयोगको वातावरण बिथोलेको छ। त्यसले क्षेत्रीय शान्ति, एकता, सद्भाव विकास र मुलुकहरूको समृद्धिलाई पनि छेकिरहेको छ।

भारतले आर्जन गरेको विशाल स्तरको आर्थिक, राजनीतिक, कूटनीतिक र सैनिक शक्ति र क्षमतासँग पाकिस्तानको तुलना नै हुँदैन। पाकिस्तान चरम आर्थिक संकटको स्थितिमा छ। वर्षौंदेखि व्यवस्थापन हुन नसकिरहेको आन्तरिक राजनीतिक अन्योल र अराजकता छ। प्रजातान्त्रिक प्रणालीलाई आफैं आफ्नो स्थान निर्माण गर्नमा सेनाको निरन्तरको असहयोग र विरोधले पाकिस्तानी प्रजातन्त्रलाई आम जनतासँग एकाकार रहेर आफ्ना अभावहरू हटाउने र प्रभावकारिता बढाउने अवसर नै प्राप्त भइरहेको छैन। पाकिस्तानका उपरोक्त अभावमा नै सेना र अतिवादीहरूले आफ्ना विशाल र शक्तिशाली राजनीतिक साम्राज्य निर्माण गरेका छन्। त्यसले पाकिस्तानमा राजनीतिक विग्रह, आर्थिक असफलता, दण्डविहीनता, जातीय तनाव र भ्रष्टाचारलाई बढावा दिइरहेको बारे दक्षिण एसियाली मामिलाका विख्यात अमेरिकी जानकार प्रोफेसर स्टेफेन पी. कोहनले २०११ मै आफूद्वारा सम्पादित पुस्तक दि फ्युचर अफ पाकिस्तान मा उल्लेख गरेका थिए। प्रोफेसर कोहनको त्यो टिप्पणी आज झन् सान्दर्भिक हुँदै आइरहेको छ।

भारत र पाकिस्तानबीचको तनावको एउटा असाध्य पाटो के देखिएको छ भने भारत पनि पाकिस्तानलाई सुदृढ र मजबुत हुन सहयोग गरिरहेको छैन। विगतमा पाकिस्तानको विभाजन र विखण्डनमा भूमिका निर्वाह गर्ने र बलुचिस्तानमा त्यस्तै पृथकतावादी गतिविधिमा संलग्न रहेको भारतमाथि पाकिस्तानले पनि विश्वास गर्न नसक्नुलाई अस्वाभाविक मान्न सकिन्न।

तर एउटा कुरा स्पष्ट छ, पाकिस्तान जतिसुकै बलियो, समर्थ र सुदृढ भए पनि भारत ऊसँग भिड्न सक्छ। त्यति मात्रै होइन, आफूभन्दा धेरै शक्तिशाली चीनसँग पनि भिड्ने सामथ्र्य भारतले राख्ला तर एउटा उदाउँदो र शक्तिशाली भारत एउटा दुर्बल, आर्थिकरूपमा कमजोर र इस्लामिक कट्टरपन्थ तथा आतंकवादले जर्जर बनाएको पाकिस्तानको सामना गर्नु कत्तिको दुसाध्य र कष्टप्रद कार्य हो भन्नेबारेमा भारतले नबुझेको नहुनुपर्ने हो।

त्यसैले भारत, चीन र अमेरिकाले पाकिस्तानको एकता, अखण्डता र स्थिरताको बृहत् राजनीतिक र रणनीतिक प्रोजेक्ट निर्माण गरेर एउटा सुदृढ र आत्मविश्वासयुक्त पाकिस्तान निर्माण गर्नु तीनवटै मुलुकको प्रथम राजनीतिक र रणनीतिक दायित्व हुन आउँछ। त्यसले अफगानिस्तान समस्या समाधान गर्नुका साथै कास्मिर समस्या, भारत र चीनबीच विद्यमान समस्या र इस्लामिक आतंकवादलाई समेत निर्मूल गर्नमा समेत महत्वपूर्ण योगदान पुर्‍याउनेमा विश्वास गर्न सकिन्छ।

निश्चितरूपमा यति धेरै चुनौती, दबाब, प्रतिकूलता र अभावहरू झेलेर पनि एउटा राष्ट्रको रूपमा बाँच्न र प्रजातान्त्रिक अभ्यासहरूमा संलग्न रहेको पाकिस्तानसँग एउटा सफल र सबल राष्ट्रका रूपमा विश्व समुदायमाझ स्वाभिमानका साथ खडा हुने आन्तरिक ऊर्जा र इच्छाशक्तिको अभाव भने छैन। अभाव शक्तिराष्ट्रहरूको इमानदारीपूर्ण सहयोगको मात्रै होला !

भट्टराई नेपाल इन्स्टिच्युट फर स्ट्र्याटिजिक स्टडिज (निस) सँग सम्बद्ध छन्।

-केशवप्रसाद भट्टराई